कृषि/पशुपालन /सहकारी

धादिङमा महिलाको पहिलो सहकारीे खारेज

By Dhadingnews.com

July 15, 2014

 

धादिङ, असार ३१ – धादिङ जिल्लाको पहिलो महिला सहकारीको दर्ता खारेज भएको छ ।

महिलाहरुको मात्र सहभागिता रहने गरी २०५२ चैत २२ गते जिल्लाको ज्यामरुङ गाविसमा कार्यालय रहने गरी दर्ता गरिएको श्रृजना महिला बचत तथा ऋण सहकारी संस्था यो बर्ष खारेजीमा परेको हो ।

सहकारीको मान्यता अनुसार संचालन हुन नसकेपछि जिल्लाको पहिलो महिला सहकारीलाई पटक पटक  डिभिजन सहकारी कार्यालयले सचेत गराउँदै आएको थियो ।

तीन बर्ष अघिदेखि सञ्चालक समितिको बैठकसमेत नबसेको, बचत तथा ऋणको कुनै कारोवारसमेत गर्न छाडेको पाईएपछि सहकारी ऐन २०४८ को दफा ४१ वमोजिम खारेजी प्रक्रिया अघि बढाएरसंस्थाको दर्ता खारेज गरिएको डिभिजन सहकारी कार्यालयका सहकारी निरिक्षक महेश्वर ढकालले जानकारी दिनुभयो ।

संस्था स्थापना गर्दाका अधिकांश महिला सदस्यहरु गाउँ छाडेर वाहिर जानुका साथै गाविसमा ठुला लगानीका सहकारी संस्थाहरु स्थापना भएपछि महिला सहकारी चल्न नसकेको खारेजीमा परेको सहकारी संस्थाका अध्यक्ष करुणाकुमारी थापा मगरको भनाई छ । डिभिजन सहकारीले यो बर्ष श्रृजनशिल महिला बचत तथा ऋण सहकारी सहित आठ वटा सहकारी संस्थाको दर्ता खारेजी भएको जानकारी दिएको छ ।

धादिङ जिल्लामा सहकारीमा महिलाहरुको  सहभागिता र आफ्नै व्यवस्थापनमा संचालन गर्ने कार्य २०५२ सालवाट सुरु भएको र अहिलेसम्म विभिन्न प्रकारका गरी ८० वटा सहकारी महिलाले मात्र संचालन गरिरहेको डिभिजन सहकारी अधिकृत कृष्णवहादुर वोहोराले वताउनुभयो ।

महिलाको सहधभागितामा स्थापना भएको पहिलो सहकारी मात्रै होइन गैर सरकारी संस्थामार्फत जिल्लामा स्थापना गरिएका सहकारी संस्थाहरु पनि धमाधम खारेजीमा पर्दै जान थालेको छन । समग्र विकास सेवा केन्द्र नामक गैर सरकारी संस्था मार्फत २०५४ देखि २०५७ अवधिमा धादिङमा दर्ता गरिएका ९ वटा स्वावलम्वन सहकारी संस्थाहरु मध्ये अव २ वटा मात्र संचालन रहेको छ ।

यसैगरी ग्रामीण आर्थिक विकास संघ रेडा नामक संस्थाले पनि २०५२ देखि २०६३ को अवधिमा जिल्लामा कस्थापना गरिदिएको ७ वटा महिला बचत तथा ऋण सहकारी संस्था मध्ये सातवटै खारेजीमा परिसकेको सहकारी कार्यालयले जनाएको छ ।

फिनल्याण्ड सरकारको आर्थिक सहयोगमा संस्थाले संचालन गरेको महिला शशक्तीकरण तथा दिगो आयआर्जन सम्वन्धी कार्यक्रममा आवद्ध महिलाहरुलाई समेटेर जिल्लाको ज्यामरुङ,कुम्पुर,मैदी,सलाङ,नलाङ गाविसमा सहकारी सस्था स्थापना गरी १ लाखका दरले आर्थिक सहयोग समेत गरिएको थियो ।