हाम्रो पालिका

अधिकांश चेपाङ बालबालिका कुपोषित

By धादिङ न्यूज

July 30, 2014

उद्धव चेपाङ

धादिङ–वेनिघाट गाउँ विकास समितिको वडा नम्वर ९ पांगर जिवर ,वडा नम्वर ७ को ग्याजाको चेपाङ समुदायमा वृद्दि अनुगमन केन्द्र सञ्चालनमा ल्याइएको छ ।

                         शान्ति नेपालको अगुवाइ र वेनिघाट स्वास्थ्य चौकीको समन्वयमा वृद्दि अनुगमन केन्द्र सञ्चालनमा ल्याइएको हो । वृद्दि अनुगमन केन्द्रमा तौल लिएका अधिकांश चेपाङ बालबालिकाहरुमा कुपोषणको समस्या रहेको पाइएको छ । वेनिघाट ७ को डाँडा गाउँ प्रसुती केन्द्रमा २० जना चेपाङ बालबालिकाको तौल लिइएकोमा १६ जना बालबालिका उमेर अनुसार तौल नपुगेको र वेनिघाट ९ पांगरजिवमा १० जना बालबालिकाको तौल लिइएकोमा ८ जना बालबालिकाको उमेर अनुसार तौल नपुगेको पाइएको छ । अति कुपोषित १६ जना चेपाङ बालबालिकालाई थप उपचारका लागि पोषण पुनःस्थापना केन्द्र सुनाकोठी ललितपुरमा जानको लागि सिफारिस गरिएको छ ।

                             

वृद्दि अनुगमन केन्द्रमा बच्चाको तौल लिन आएका चेपाङ महिलाहरुको लागि पोषण सम्वन्धि स्वास्थ्य शिक्षा दिइएको छ । कार्यक्रममा पोषण भनेको के हो ? कुपोषण, कुपोषणका कारणहरु, लक्षणहरु, यसबाट बच्ने उपायका विषयमा शान्ति नेपालका सामुदायिक स्वास्थ्य सहजकर्ता सिता शाक्यले जानकारी गराउनुभएको थियो । यसका साथै तौल नुपगेका चेपाङ बालबालिकाहरुका लागि १९ के.जी सर्वोत्तम पिठो निःशुल्क वितरण गरिएको छ । चेपाङ समुदायमा सुरुमा नै कम तौलको बच्चा जन्मनु, आमाले खानपानमा ध्यान नदिनु , स्वास्थ्य, सरसफाइ र उपचारमा ध्यान नदिनु, बच्चालाइ आमाको दुध र खाना समयमा नखुवाउनु, चेपाङ समुदायमा खाद्यान्न अभाव हुनु जस्ता कारणले चेपाङ समुदायमा कुपोषणको समस्या उच्च रहेको छ । चेपाङ समुदायमा रहेको कुपोषणको समस्यालाई ध्यानमा राखी शान्ति नेपालले धादिङको जोगिमारा, धुसा, वेनिघाट, महादेवस्थान, गजुरी र पिडा गाउँ विकास समतिमा पोषण तथा खाद्य सुरक्षा कार्यक्रम शुरु गरेको छ । कार्यक्रम अन्तरगत चेपाङ समुदायमा पोषण शिक्षा अभिमुखिकरण, पोषण सम्वन्धि परिवार शिक्षा, वृद्दि अनुगमन केन्द्र सञ्चालन, आयआर्जनमुलक कार्यक्रम, स्वस्थ वच्चा प्रतिस्पर्धा लगायतका गतिविधि सञ्चालन गरिने शान्ति नेपालका सामुदायिक स्वास्थ्य अधिकृत इन्द्रमान शाक्यले वताउनुभयो । शािन्त नेपालले अति कुपोषित बालबालिकाहरुको पहिचान गरी थप उपचारका लागि पोषण पुन स्थापना केन्द्रमा पठाउन सहयोग गर्दै आइरहेको छ ।