राष्ट्रिय समाचार

२० औं अन्तराष्ट्रिय विश्व आदिवासी दिवस भब्य रुपमा मनाउने

By Dhading News

August 04, 2014

काठमाडौं, १५ साउन । नेपाल आदिवासी जनजाति महासंघले २० औं अन्तराष्ट्रिय विश्व आदिवासी दिवस भब्य रुपमा मनाउने भएको छ । ‘समानता कायम गर्दै आदिवासी जनजातिको अधिकार कार्यान्यवन गर भन्ने मूल नाराकासाथ दिवस मनाउन लागिएको हो ।

आदिवासी जनजातिको अधिकार स्थापित गराउन देशैभर आन्दोलन गरीरहेका आदिवासी जनजातिहरुले यो दिवस आन्दोलनकै रुपमा भब्य रुपमा मनाउन लागेको महासंघका अध्यक्ष नगेन्द्र कुमालले बताए । हामीले अरुको अधिकारखोस्ने प्रयास गरेका हैनौं, हाम्रो अधिकार स्थापित गर भनेका हौं ।’अध्यक्ष कुमालले पत्रकार सम्मेलनमा भने । विश्व आदिवासी दिवसको अवसरमा नयाँ संविधानमा आदिवासी जनजातिको अधिकार सुनिश्चितताको आबश्यकताबारेस्वदेश तथा विदेशमा रहेका तमाम आदिवासी जनजातिको चेतना अभिबृद्धि गर्दै दिवस मनाउन लागेको उनले बताए । दिवसमा जनजाति महासंघले ‘समानता कायम गर्दै आदिवासी जनजातिको अधिकार कार्यान्वयन गर, आदिवासी जनजातिको अडान पहिचान सहितको संघीय संविधान’ लगायतका नाराहरु रहेका छन् । केन्द्रीय स्तरमा महासंघको केन्द्रीय सचिवालयले २०७१ श्रावण १५ गतेदेखि २४ गतेसम्म विभिन्न कार्यक्रम सहित वृहत समारोह आयोजना गर्दैछ ।                विगतमा झैं यो वर्ष पनि विश्व आदिवासी दिवस २०७१ लाई नेपाल आदिवासी जनजाति महासंघले काठमाडौंमा आदिवासी जनजातिका ५९ जातीय संगठन, सूचिउन्मुख संगठनहरु र सम्बन्धन प्राप्त संगठनहरुबीचमा र काठमाडौ बाहिरका जिल्लाहरुमा नेपाल आदिवासी जनजाति महासंघका जिल्ला समन्वय परिषद, नगर तथा गाउँ समन्वय परिषदर विदेश च्याप्टरले पनि विश्व आदिवासी दिवस २०७१ को अवसरमा विभिन्न प्रचार प्रसार, गोष्ठी, सभासम्मेलन र अन्तरक्रियात्मक कार्यक्रमहरु सहित भव्यताका साथ मनाउने निर्णय गरेको छ । विभिन्न प्रकारका अन्तरक्रिया,विचार गोष्ठी, पत्रकारसम्मेलन, जलपान, आदिवासी जनजातिको संस्कृति झल्कने झाँकी सहितको र्‍याली, खानपिन महोत्सव र मूल समारोहमा नेपाल सरकारको उच्च पदस्त व्यक्तित्व तथा प्रतिनिधि, कुटनैतिक नियोगका प्रमुख,अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधिहरुलाई समेत अतिथिको रुपमा आमन्त्रण गरी २०७१ साउन २४ गते काठमाडौंमा मनाइने भएको छ ।