राष्ट्रिय समाचार

‘चरी’ हत्याबारे यथार्थ जानकारी गराउन गृहमन्त्रीलाई सभामूखको रुलिङ

By Dhading News

August 07, 2014

काठमाडौँ -व्यवस्थापिका–संसद्को साउन २२ गते बसेको बैठकमा चरी भनिने धादिङका दिनेश अधिकारीको हत्याका विषयमा सांसदहरुले गृहमन्त्रीको जवाफ मागेपछि सभामुख सुवासचन्द्र नेम्वाङले हत्याकाण्डबारे यथार्थ जानकारी गराउन गृहमन्त्रीलाई रुलिङ गरेका छन् ।

संसदको बैठकमा धादिङबाट निर्वाचित तथा अन्य संसदहरुलेसमेत हत्या नियोजित भएको भन्दै गृहमन्त्रीको जवाफ मागेपछि सभामूखले रुलिङ गरेका हुन् ।

संसद बैठकमा राजेन्द्रप्रसाद पाण्डेले बर्दिको आडमा प्रहरीले नागरिकको गैरन्यायिक हत्या गरेको भन्दै हत्यामा संलग्नहरुलाई कानुनी दायरामा ल्याई कारवाही गर्नुपर्ने माग गरेका छन् । उनले मान्छे मार्ने कानुन नेपालमा नभएकाले यो सरासर गैर न्यायिक हत्या भएको बताए ।

अर्का सांसद गंगालाल तुलाधरले हत्याको विषय बङ्ग्याएर गलत तथ्य स्थापित गर्न खोजेको भन्दै प्रहरीको आलोचना गरे ।

साँसद गुरु बुर्लाकोटीले इन्सेक प्रतिनिधिसँग कुरा गर्दै अन्यत्रै हत्या गरी चरीलाई भिमढुङ्गा पुर्याइएको दावी गरे । उनले भने–‘आठआठ गोली लागेको मान्छेको रगत बगेको छैन । गोली लागेका प्वालहरुमा रुई (कपास) कोचेर त्यहाँ पुर्याइएको छ । त्यहाँ कपासका टुक्राहरु पनि फेला परेको छ ।’

उनको हत्या नियोजित रुपमा उद्देश्यमूलक ढंगले हत्या गरिएकोमा कुनै शंका नरहेको पनि बुर्लाकोटीले बताएका छन् । प्रहरीले उनलाई यसअघि नै सतुंगलमा मार्ने योजना गरेको पनि सांसद बुर्लाकोटीको भनाई छ ।

उनीहरुले उक्त हत्याकाण्डमा सङ्लग्न प्रहरीहरुलाई निलम्बन गर्नुपर्ने र संसदीय छानवीन समिति बनाउनुपर्ने माग गरेका छन् । उक्त घटनाको विषयमा संसद बैठकमा साउन २३ गते गृहमन्त्री बामदेव गौतमले जवाफ दिने पनि बुर्लाकोटीले जनाएका छन् ।

यसैवीच गृहमन्त्री बामदेब गौतमका प्रेस सल्लाहकार विश्वमणी सुबेदीले घटनाको सत्य तथ्य बुझेर कारवाही प्रकृया अघि बढाउने प्रतिक्रिया दिएको बताएका छन् । यस घटनाबारे आपैंm प्रष्ट भइनसकेकाले आपूm प्रष्ट भएपछि मात्रै थप कदम चाल्ने बिहान मन्त्री निवास पुल्चोक पुगेका साँसदहरुलाई आश्वासन दिएको पनि सुबेदीले जानकारी दिएका छन् ।