हाम्रो पालिका

दिनेश हत्याको विरोधमा धादिङ वन्द फिर्ता, अध्यक्ष त्रिपाठी द्धारा घटना छानविन गर्न माग

By Dhading News

August 08, 2014

धादिङ- नेकपा एमाले धादिङ क्षेत्र नम्बर १ का पुर्व उपाध्यक्ष दिनेश अधिकारीको हत्याको विरोधमा वन्द आव्हान गरिएको सदरमुकाम वन्द फिर्ता भएको छ । नेकपा एमाले धादिङ क्षेत्र नम्बर १ को आव्हानमा शुक्रवार विहानै देखि सदरमुकामको वजार क्षेत्र र यहावाट छुट्ने र सदरमुकाम भिने सवारी साधन वन्द गरिएको थियो । सदरमुकाममा पुरक प्रवेशिका परिक्षा संचालन भईरहेको र हत्याको बिषय संसदमा प्रवेश गरिसकेकाले जिल्ला वन्द फिर्ता गरिएको नेकपा एमाले धादिङका उप सचिव शम्भु थापाले वताए । दिनेशको हत्या गैर न्यायिक तवरवाट भएकोले हत्यामा संलग्न हरुको पहिचान गरी उनिहरुमाथि कारवाहीको माग गर्दै एमालेले शुक्रवार विहानै देखि सदरमुकामको वजार क्षेत्रमा उपस्थित भएर प्रदर्शन गर्दै वजार र यातायात वन्द गराएको थियो । विभिन्न अपराधमा संलग्न भएको आरोप लगाउंदै प्रहरीले अधिकारीलाई नियन्त्रणमा लिई गैर न्यायिक ढंगवाट हत्या गरेकाले हत्यामा संलग्न व्यक्तिहरुको पहिचान गरी दोषि माथि कारवाहीका लागि वन्द गरेर विरोधमा उत्रनु परेको नेकपा एमालेका जिल्ला सदस्य एवम युवा संघ धादिङका अध्यक्ष अर्जुन गोर्खालीले वताएका छन । वन्दको कारण सदरमुकाम धादिङबेसीवाट छुट्ने सवारी साधनहरु दिनभरी जसो ठप्प भएका थिए । धादिङबेसीवाट जिल्लाका ग्रामीण भेगका साथै काठमाण्डौं,पोखरा,नारायाणगढ लगायतका शहर सम्म दैनिक वसहरु छुट्ने गर्दछन । सदरमुकाम क्षेत्रका वजार र यातायात वन्द भएपनि राजमार्ग क्षेत्रमा भने सवारी साधन संचालन भएका थिए । यसै बिच नेकपा एमाले धादिङका अध्यक्ष भुमि त्रिपाठीले प्रेस बिज्ञप्ति जारी गर्दै अधिकारीकोह हत्या मुठभेडमा नभई सुनियोजित रुपमा गरिएको र अपराधमा संलग्न भएको आरोपमा कुनै पनि व्यक्तिलाई नियन्त्रणमा लिएर हत्या गर्ने अधिकार नेपाल प्रहरी संग नभएको वताएका छन । अधिकारीको हत्यामा संलग्न भएका प्रहरीहरुलाई निलम्वन गरी छानविन गरिनुपर्ने अध्यक्ष त्रिपाठीले बिज्ञप्तिमा जनाएका छन । प्रहरीले दोहोरो मुठभेड भनेर प्रचार गरेपनि घटनास्थलको प्रकृति हेर्दा अन्यत्रै हत्या गरी शव त्यहां पुर्याईएको त्रिपाठीको भनाई छ । साथमा बिज्ञप्तिको पूर्ण यस प्रकार छ ।

=============================================================================

नेकपा (एमाले) जिल्ला कमिटी धादिङ्ग

                                                                                                                              २०७१÷०४÷२३ प्रेश विज्ञप्ति

पत्रकार बन्धुहरु, हाम्रो पार्टी नेकपा (एमाले) क्षेत्र नं. १ का पूर्व उपाध्यक्ष क. दिनेश अधिकारीको २०७१ साल श्रावण २१ गते प्रहरीसँगको ‘इन्काउन्टर’ का नाममा गरिएको गैह्रन्यायीक हत्या प्रति पार्टी जिल्ला कमिटी धादिङको गंभीर ध्यानाकर्षण भएको छ । विगतमा दिनेश अधिकारीको गतिविधि केही विवादस्पद रहेको सुनियता पनि एमाले प्रवेशसँगै उनी रुपान्तरणको क्रममा थिए । आफूमाथि लागेको आरोपको कानून सम्मत रुपमा सामना गर्न उनी हरहमेशा तयार थिए । मारिनु अघि उनका विरुद्ध दुईवटा मुद्दा अदालत पुगेको थियो । उनी आफ्नो कानूनी सल्लाहकारको सल्लाह बमोजिम अदालत हाजिर हुने दिनको प्रतिक्षामा रहेका थिए । प्रहरीले भने जस्तो ‘मोष्टवान्टेड’ को सूचीमा रहनु पर्ने कुनै कार्यमा उनी संलग्न रहेको पाइएको छैन । प्रहरीले पनि यस कुराको पुष्टि गर्न सकेको छैन । यसबीच गत बुधवारका दिन अन्दानजी पाँच बजे दिनेश अधिकारी काठमाडौं र धादिङ्गको सिमानामा पर्ने भिमढुंगाको नर्सरी भञ्जाङमा प्रहरीको जवाफी कारवाहीमा मारिएको र निजको साथमा एक थान पिस्तोल समेत रहेको प्रहरलिे संचारमाध्यम मार्फत जानकारी दियो । घटनाको बारेमा जानकारी पाउने वित्तिकै उक्त स्थानमा पुग्नुभएका धादिङ्ग क्षेत्र नं.१ कासभासद क. धनबहादुर घलेलाई समेत घटनास्थालमा पुग्न दिइएन । लासको पं्रकृति मुचुल्का गरिंदा मृतकको आफन्तजनलाई संलग्न गराउनुपर्ने सर्वमान्य कानूनी मान्यतालाई समेत इन्कार गरियो र घटना हुनु अघिदेखिनै सर्वसाधारणलाई तीन सय मिटर वरपर प्रवेश गर्न दिइएन । स्थानीय वासिन्दाको भनाईमा त्यहाँ पाँच राउण्डमात्र गोली चलेको थियो तर दिनेशको शरिरमा आठ ठाउँमा गोली लागेको देखिन्छ । घटनास्थलमा एक थोपा रगत समेत नदेखिनुले उनलाई अन्यत्रै पक्राउ गरि हत्या पछि त्यस ठाउँमा पुर्याई नाटक मञ्चन मात्र गरिएको थियो भन्ने प्रष्ट बुझिन्छ । उता मोटर साइकलमा एक्लै सवार व्यक्तिले प्रहरीलाई पहिले फायर गरेको र जवाफमा प्रहरीले फायर गरेको भन्ने कुरा आफैमा हास्यास्पद छ । साँघुरो कच्ची र उकालो बाटोमा मोटरसाईकल चलाई रहेको व्यक्तिले गाडिमा सवार ठूलो संख्याको प्रहरीलाई कसरी फायर गर्न सक्छ ? फेरि पछाडिबाट गोली हान्दा छातीमा मात्र आठ राउण्ड गोली कसरी लाग्न सक्छ ? घटनामा संलग्न प्रहरीको भनाईमा पनि प्रशस्त विरोधाभाष भेटिन्छ । एकाथरी सितापाईला देखिनै दिनेशलाई चिनेर पिछा गरेको कुरा बताउँछन् भने अर्काथरी घटना पछि मात्र दिनेश अधिकारी भनेर चिनेको बताउँछन् । पत्रकार बन्धुहरु, हामीलाई दिनेश अधिकारी जीवितै रहँदा उनी स्वयंले दिएको सूचना र उनको परिवारजनले हाल दिएको सूचनाका आधारमा उनको हत्यामा प्रहरी निरीक्षक कुमुद ढुंगेल संलग्न रहेको निष्कर्षमा हामी पुगेका छौं । निजले दिनेशको परिवारजनकै सामु जसरीपनि हत्या गरिछाड्ने धम्की पटक पटक दिएका थिए । कुमुदका साथी अर्पण कोइरालाले दिनेशकी प्रेमिका खुस्बु ओलीलाई दिनेशलाई मारिदिने भन्दै पटक पटक मेसेज पठाएका थिए । उक्त प्रमाण खुस्बुसँग अहिलेपनि सुरक्षित छ । कुमुद ढुंगेल दिनेशलाई सतुंगलमा गोलि हान्ने समीर बस्नेतको नातेदार रहेको र रिसइवी साध्न र समिरको धन्दा बचाउन दिनेशलाई मार्ने योजना संलग्न रहेको प्रष्टै बुझ्न सकिन्छ । खुस्बुले पनि कुमुद र अपर्ण दुबैले आफूसँग विवाह गर्न चाहेको र आफूले इन्कार गरेपछि पटक पटक दिनेशको हत्या गर्ने धम्की दिएको बताएकी छिन् । वर्दीधारी अपराधी मनोवृत्ति भएका व्यक्तिहरुको संलग्नतामा यो जघन्य हत्या गरिएको छ । यस कार्यमा संलग्न प्रहरी अधिकारीहरु कुमुद ढुंगेल, पुष्कर कार्की, मिरा चौधरी लगायतलाई तुरुन्त निलम्बन गरी घटनाको छानविन गर्न संसदीय समिति वा विश्वासिलो न्यायीक समिति गठन गरियोस भनी नेकपा (एमाले) धादिङ्ग जोडदार माग गर्दछ । जस्तो सुकै अपराध कार्यमा संलग्न रहेको भएपनि गैह्र न्यायीक हत्या गरिनु सभ्य समाजकालागि स्वीकार्य हुन सक्दैन । त्यसैले मानव अधिकारका क्षेत्रमा कृयाशील राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्था र नागरीक समाजलाई समेत यस हत्याकाण्डको छानविनमा सहयोग पुर्याईदिनुहुन हार्दिक अनुरोध गर्दछौं । संचारकर्मी मित्रहरुलाई दिनेशको विगत सम्झेर पूर्वाग्रही नबन्न र एउटा नगारीकको गैह्र न्यायीक हत्या हुँदा राज्यको चौथो अंगको भूमिका निर्वाह गरिदिनुहुन विशेष आग्रह गर्दछौं । अन्तमा कायरतापूर्वक मारिनु भएका क. दिनेश अधिकारीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन प्रति गहिरो समवेदना प्रकट गर्दछौं । यस दुःखद घडीमा कत्तिपनि विचलित नभई शोकलाई शक्तिमा बदल्दै दिनेशका हत्याराहरुलाई कठघरामा उभ्याउने पार्टीको अभियानमा सकृय सहयोग पुर्याउन सम्पूर्ण पार्टीपंक्तिमा हार्दिक अपील गर्दछौं ।

भूमि त्रिपाठी का.बा. अध्यक्ष नेकपा (एमाले) धादिङ्ग