हाम्रो पालिका

आठ किलो लागू पर्दाथ चरेश नष्ट

By Dhading News

August 14, 2014

धादिङ,२९ साउन – अबैध लुकाई छिपाई बिक्री गर्न लैजान लागेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको लागू पर्दाथ चरेश नष्ट गरेको छ । बिहीवार जिल्ला प्रहरी कार्यालय परिसरमा ८ किलो १०० ग्राम चरेश प्रहरीले सार्वजनिक रुपमा नष्ट गरेको हो । साउन १७ गते विहान ९ वजे तिर त्रिभुवनराजपथमा पर्ने धादिङको थांक्रे गाविस वडा नम्बर ७ हाप्सेचौरमा सवारी जांच गर्नेक्रममा प्रहरी टोलीले उक्त चरेश नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरिक्षक वाशुदेव थापाले जानकारी दिनु भयो । राजमार्गमा सवारी साधनहरु चेकजाँच गर्ने क्रममा मकवानपुरको पालुङ्गबाट काठमाण्डौका लागि छुटेको बा३ख २८३१ नम्बरको बसमा सवार नाम,थर वतन नखुलेका अन्जादी ३३ बर्षिय मंगोलियन अनुहार भएका युवक आफुले बोकेको रातो रंगको झोला सडकमै छाडी जंगल तर्फ भागेपछि शंका लागेर खोजतलास गर्दा चरेश भेटिएको प्रहरीले जनाएको छ । वसमा सवार युवक झोला छाडेर जंगल तर्फ भागेपछि उक्त झोला खोली हेर्दा लागू औषध चरेश ३९ थान तौल गर्दा ८ किलो १०० ग्राम (प्याकेट सहित) फेला परेको र फरार युवक नियन्त्रणमा लिन नसकेपनि बरामद गरिएको लागू औषध चरेश बिहीवार प्रहरीले जलाएर नष्ट गरेको हो । चरेश वोक्ने व्यक्ति फरार भएपनि मुद्दा दर्ता गरी निज फरार व्यक्तिको खोजतलास कार्य जारी राखी थप अनुसन्धान भई रहेको धादिङका प्रहरी नायव उपरिक्षक प्रकाश मल्लले जानकारी दिनु भयो ।