मुख्य समाचार

इबोला नियन्त्रणका लागि विमानस्थलसहित सातवटा सीमामा स्वास्थ्य परीक्षण टोली

By धादिङ न्यूज

August 15, 2014

काठमाण्डौं–इबोला भाइरस भित्रिन नदिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य परीक्षण टोली राख्ने प्रक्रिया विहीवार देखि सुरु गरेको छ । जस अन्तर्गत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित सातवटा सीमामा टोली खटाउन थालिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित अन्य सीमा नाकामा स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य परीक्षण टोली (हेल्थ डेक्स) राख्न सुरु गरिएको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. सेनेन्द्रराज उप्रेतीले बताउनुभयो । मन्त्रालयले नेपाल भित्रिने एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित भारत र चीनसँगका अन्य सातवटा सीमा (नाका) पाँच जनाको स्वास्थ्य परीक्षण टोली रहने जनाएको छ । एकजना विशेषज्ञ चिकित्सक, एकजना चिकित्सक, एकजना परिचारिका र अन्य दुईजना सहयोगी आवश्यक उपकरणसहित टोलीमा रहने छन् । उपत्यका बाहिरका सीमा नाकामा अहिले सम्बन्धित जिल्लाका जनस्वास्थ्य कार्यालयलाई उपलब्ध जनशक्तिलाई परिचालन गर्न मन्त्रालयले परिपत्रसमेत गरिसकेको छ । मन्त्रालयले सन् २००९ मा पनि विमानस्थलसहित अन्य सीमामा स्वाइन फ्लू र बर्ड फ्लू भित्रिन नदिन यसप्रकारको हेल्थ डेस्क स्थापना गरेको थियो । विभागका महानिर्देशक उप्रेतीले नाकाबाट आउने सबैको परीक्षण गर्ने कि शङ्कास्पदको मात्र गर्ने भन्ने विषयमा छलफल भइरहेको बताउनुभयो । महानिर्देशक उप्रेतीले विश्व स्वास्थ्य सङ्गठनको नेपाल सदस्य देश भएकाले सङ्गठनको मार्ग निर्देशनअनुरूप इबोला प्रकोपविरुद्ध सामना गर्न नेपालले आवश्यक तयारी गरेको जानकारी दिनुभयो । हेल्थ डेस्कले परीक्षण गर्दा शङ्कास्पद लागेकालाई तत्काल उपचार गर्न मन्त्रालयले वीर र टेकु अस्पताललाई सरकारले तयारी अवस्थामा राखेको जनाएको छ ।