राष्ट्रिय समाचार

नेपाल प्रेस युनियनको नेतृत्व हत्याउन अप्रजातान्त्रिक खेल सुरु भएको आरोप

By Dhading News

August 23, 2014

काठमाडौं । आगामी २१ र २२ गते पोखरामा हुने प्रजातन्त्रवादी पत्रकारहरुको साझा संस्था नेपाल प्रेस युनियनको महाधिवेशनबाट नेतृत्व हत्याउन अप्रजातान्त्रिक खेलहरु सुरु भएको छ । महाधिवेशन नजिकिदै गर्दा पत्रकारितामा क्रियाशिल मात्र होइन, पत्रकारिताबाट टाढिएकाहरु नेतृत्व हत्याउन तम्सिएबाट श्रमजीवी पत्रकारहरु दिक्क मान्न थालेका छन् ।

यतिवेला जिल्ला तह देखि केन्द्रसम्म चुनावी सरगर्मी बढेको छ । महाधिवेशनलाई लक्षित गरेर उम्मेदवारहरु जिल्ला दौडाहामा निस्किएका छन् । ट्रेड युनियनमा आवद्ध संस्थाको नेतृत्व हत्याउन दोकाने संचार मालिकदेखि पत्रकारलाई काम लगाएर तलब नदिने संचार व्यवस्थापक र एक दशक पत्रकारिता छोडेका पात्रहरु भोट माग्न जिल्ला दौडाहमा निस्किएको देख्दा युनियनको भविष्य चौपट हुने त्रास बढेको छ ।

गत २०६७ चैत्र ६ र ७ गते सुनसरीको इटहरीमा सम्पन्न भएको सातौं महाधिवेशमा ‘टीके प्रथा’ सुरु गर्ने कांग्रेसी नेता अर्जुननरसिंह केसी, दिलेन्द्र बडूहरु फेरि टिकोटालोको मनस्थितिमा छन् । उनीहरुले हरिहर विरहीलगायतका ‘ठेकेदार’ पत्रकारको इसारामा व्यवसायिक मूल्य, मान्यता र आचरण नभएका पत्रकारको झुण्डलाई यस पटक नेतृत्व सुम्पने घातक अभ्यासमा लागेकोप्रति व्यवसायिक पत्रकारहरु दिक्क देखिन्छन् ।

उम्मेदवारी घोषणा गरेर मैदानमा ओर्लिएका बद्री सिग्देल, शिव लम्साल, दामोदर दवाडीसँग श्रमजीवीलाई छुने एजेण्डा देखिएको दुखेसो श्रमजिवी पत्रकारहरुमाझ व्यापक छ । एउटै जिल्लामा १० पटकसम्म भोट माग्न जाने यी उम्मेदवारहरुलाई कतिपय जिल्ला सभापतिहरुले ‘छिछि दुरदुर’को दृष्टि लगाउन थालेको पाइएको छ ।

अन्तराष्ट्रिय पत्रकार महासंघको पहिलो सदस्य संस्था युनियनले अब सो संस्थाका प्रतिनिधिसँग सामान्य अंग्रेजीमा कुरा राख्न सक्ने नेतृत्व समेत नपाउने परिस्थिति बन्दै गएको छ । हो, अध्यक्षको उम्मेदवार हुने चर्चामा रहेका दामोदर दवाडी, शिव लम्साल, भुवन भट्ट, बद्री सिग्देल, गंगाधर पराजुलीबाट त्यो विगतमा पनि भएको उदाहरण नभएको युनियनकै पदाधिकारीहरु बताउँछन् ।

बरिष्ठ उपाध्यक्ष दवाडी, हालका महासचिव लम्साल, कार्यवाहक अध्यक्ष सिग्देलले विगतमा त्यो कला देखाएनन । उनीहरु तिनै जना श्रमजीवी पत्रकारसँग भन्दा नेता र ठेकेदार पत्रकारको आडमा चुनावी मैदानमा जाने तयारीमा देखिन्छन् । वरिष्ठ उपाध्यक्ष ताक्नेमा दिपक आचार्य, विजय सन्तोषी राई, बाला अधिकारी, महेन्द्र प्रसाद श्रेष्ठको नाम चर्चामा छ । उपाध्यक्षहरुमा दिपेन्द्र वान्तवा र दिपेन्द्र चौहानको पनि नाम चर्चामा आएको छ ।

महासचिबमा होम लम्साल, अजयबाबु शिवाकोटी, सरोज अधिकारी, लिलाराज खनाल, इश्वरी ओझाको नाम चर्चामा छ । शिवाकोटी हाम्राकुरा डटकमका सम्पादक तथा केन्द्रिय सदस्य छन । अधिकारी इमेज च्यानलका वरिष्ठ सम्वाददाता तथा केन्द्रिय सदस्य छन् । सचिबमा भिम गौतम, शिवराज योगी, शिव देवकोटा, सोमनाथ सुसेली, खिला कार्की, प्रेम केसी, देवेन्द्र बर्मा, सूर्यकुमार क्षेत्री, खिमानन्द भट्टराईको नाम चर्चामा छ । पूर्वाञ्चलमा राम्रो प्रभाव जमाएका सुसेली पत्रकार महासंघ, इलाम शाखाका दुई कार्यकाल सभापति तथा नेपालबाणी एफ.एम इलामका स्टेसन म्यानेजर हुन भने प्रेम केसी सुदुर पश्चिममा क्रियाशिल पत्रकारिता गरिरहेका छन् ।

देवकोटा वागमती अञ्चल सदस्य हुन भने गीतकार समेत रहेका क्षेत्री नेपालीकला डटकम चलाउँछन् । पूर्वाञ्चल संयोजकमा सन्तोस सुवेदी, चेतन धमला, लिलावल्लब घिमिरेको नाम चर्चामा छ । मध्यमाञ्चलमा राममणी दाहाल र पश्चिमाञ्चलमा जनार्दन घिमिरेले उम्मेदवारी दिने तयारी गरेका छन् । त्यसैगरी सुदुरपश्चिममा विक्रम गिरीले उम्मेदवारी दिने घोषण गरिसकेका छन् भने मध्यपश्चिममा शुक्रऋषी चौलागाईको नाम चर्चामा छ ।

यता कोशीबाट हेमराज दाहाल, गण्डकीबाट टंक अधिकारीले पनि उम्मेदवारी दिने तयारी गरिरहेका छन् । केन्द्रिय सदस्यहरुमा दर्जनौं पत्रकारहरुको नाम चर्चामा छ । पूर्वाञ्चलबाट प्रतिनिधित्व गर्दै कान्तिपुर साप्ताहिक तथा इमेजखबरमा कार्यरत पत्रकार युवराज गौतमले पनि खुल्ला सदस्यबाट उम्मेदवारी दिने घोषणा गरेका छन् । गौतम इलाम शाखाका पूर्व कार्यसमिति सदस्य तथा दुईपटक पार्षद भइसकेका क्रियाशिल पत्रकार हुन् ।

यसैगरी केन्द्रिय सदस्यहरुमा, माधव धिताल, निरश खतिवडा, बसन्त पराजुली, मधुसुधन भट्टराई, भवानी पाण्डे, रमेश खतिवडा, मुरारी अधिकारी, दिलीप पौडेल, विजय पाठक, मुना सिम्खडा, उद्धब तिमल्सिना, ज्ञानेन्द्र निरौला, राजेन्द्र गौतम, गोबिन्दचन्द्र क्षेत्री, रामराज पोखे्रल, हरिस ढकाल लगायतका पत्रकारको चर्चा छ । गौतम, धिताल, खतिवडा, पराजुली युवा पत्रकारहरुमाझ लोकप्रिय छन् । उनीहरुको सम्भावना बलियो देखिएको छ ।

सम्भावना बोकेका अध्यक्षहरु सहमतीमा रुचाइएका अध्यक्षहरु चुनावी अभियानमा उतिसारो नदेखिएका तर संगठन प्रति जिम्मेवार ठानिएका सक्षम पत्रकारहरुको चर्चा पनि नेतृत्वका लागि उत्तिकै चर्चामा छ । हाल नेतृत्वका लागी देखिएका उम्मेदवारहरुले आफू मिलेर नआए पार्टीले नयाँ व्यक्तिलाई ल्याउने सम्भावना जिवीत नै देखिन्छ ।

पार्टीले रुचाएका पत्रकारहरुको फेहरिस्ती लामो छैन । पूर्व सभापति मुरारी शर्माको नाम पनि चर्चामा छ भने रामप्रसाद दाहाल, नवराज लम्साल, जुनारबाबु बस्नेतको नाम पनि उत्तिकै चर्चामा छ । पार्टीको नेतृत्व तहमा रामप्रसाद दाहाल र नवराज लम्साल मध्ये एकलाई युनियनको नेतृत्व जिम्मेवारी दिने चर्चा चलेको छ । इमेज च्यानल सम्बद्ध दाहाल श्रमजीवी पत्रकारको पक्षमा मालिक विरुद्ध मुद्दा लडेर नजिर स्थापित गरेका पात्र भएको, अन्तराष्ट्रिय पत्रकार महासंघसँगका अध्यक्षसँगै निकट रहेको र अध्ययनका हिसाबले पनि जनप्रशासनमा एमफील गरेका र पटक पटक त्याग गरेकाले उनलाई धेरै युवा पत्रकारले चाहेको पाइन्छ । लम्साल रेडियो नेपाल तथा विविसीमा आबद्ध छन् ।

यता चुनावको मिति तय भएसँगै आकाक्षीहरु आफनो निकटका नेताहरुको घरदैलो धाउन थालिसकेका छन् । आफू निकटका कांग्रेसका केन्द्रिय नेताहरुको आर्शिवादमा पत्रकारहरु नेतृत्व हत्याउने दाउमा रहेका छन् । तर कतिपय निडर पत्रकारहरुले नेताको घरदैलो धाउनुलाई गैरजिम्मेवारीपूर्ण भनेका छन् । नेपाली कांग्रेसका अर्जुननरसिहं के.सी., दिलेन्द्र वडू, सञ्चार मन्त्री मिनेन्द्र रिजाल, उपप्रधानमन्त्री प्रकाशमान सिहं लगायतका नेतहरुका घरदैलोमा पत्रकारहरु पुग्न थालिसकेका छन् ।