हाम्रो पालिका

जिल्ला अस्पतालको एक्सरे आफैं विरामी

By Dhading News

August 23, 2014

केशव अधिकारी

धादिङ,७ भदौ – स्तरबृद्धिको पर्खाईमा रहेको धादिङ जिल्लाको सदरमुकाममा रहेको जिल्ला अस्पतालको एक्सरे मेशिन विग्रीएपछि बिरामीहरुले सास्ति खेप्नु परेको छ । जिल्लाकै एकमात्र सरकारी अस्पतालमा रहेको एक्सरे मेशिन बिग्रिएपछि जिल्लाका विभिन्न गाउं वस्तीवाट उपचारका लागि जिल्ला अस्पताल पुगेका विरामीहरुले आहिले निकै सास्ति खेप्नु परेको छ । अस्पतालमा रहेको एक्सरे मेशिन साउन २७ गते देखि विग्रिएर काम नलाग्ने अवस्थामा पुगेको हो । मेशिनमा एक्कासी अत्याधिक गतिमा बिद्युत्त प्रवाह हुन थालेपछि अस्पतालले एक्सरे सेवा वन्द गरेको जिल्ला अस्पतालका एक्सरे शाखाका प्राविधिक डोलवहादुर श्रेष्ठले वताउनु भयो । जिल्ला अस्पतालको एक्सरे विग्रिएपछि विमारीहरुले महंगो शुल्क तिरेर निजी अस्पताल र क्ल्निीकहरुबाट सेवा लिन वाध्य हुनुपरेपनि अस्पताल प्रशासनले मर्मत सम्भारका लागि चासो नदेखाएको सवसाधरणको गुनासो छ । हात भांचिएका एक आफन्तको उपचारका लागि अस्पताल पुग्नु भएका नेपाल तरुण दलका जिल्ला अध्यक्ष गोपाल विश्वकर्माले पनि अस्पतालले एघार दिन देखि एक्सरे सेवा वन्द गरेर विरामीलाई दुःख दिईरहेको आरोप लगाउनुभयो । साउन २७ गते सम्म संचालनमा रहेको मेशिनमा एक्कासी अत्याधिक गतिमा बिद्युत्त प्रवाह हुनुका साथै मेशिनले फोकस लाईट दिन छाडेपछि सेवा रोकिन पुगेको र मर्मतका लागि विभागमा लिखित मौखिक जानकारी गराईएको जिल्ला स्वास्थ्य कार्यालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक मोहम्मद दाउदले जानकारी दिनु भयो । आईतवार सम्ममा मेशिन मर्मतका लागि विभागवाट प्राविधिक जिल्ला अस्पताल आईसक्ने पनि उहांले वताउनु भयो । एक्सरे जस्तो अत्यावश्यक सेवा बिग्रिएको एघार दिन विति सक्दा पनि अस्पताल प्रशासनले मर्मतमा ध्यान नदिएको अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीको भनाई छ । दिउंसो आएका विरामी निजी अस्पतालमा गएर एक्सरे गराएपनि रातीको समयमा आउने आकस्मिक अवस्थाका विरामी तथा घाइतेहरुलाई भने निकै सास्ती भएको स्वास्थ्यकर्मीको भनाई छ । सर्वसाधारणलाई सुलभ रुपमा स्वास्थ्य दिन स्थापना गरिएको जिल्ला अस्पतालमा उपचारका लागि आउंदा अस्पतालबाट सेवा भन्दा पनि हैरानी भोग्नु परेको गुनासो विरामीहरुको छ ।