गोकर्ण अर्याल, राजधानीसँग जोडिएको जिल्ला धादिङ् पत्रकारिताको विकासमा अपेक्षित रूपमा अघि बढ्न नसके पनि त्यही भूमिमा जन्मिएका प्रायः सञ्चारकर्मीबाट राजधानी लगायतका ठाउँबाट प्रकाशित हुने धेरै अखबारमा नेतृत्वदायी भूमिका निर्वाह भएको छ । यस हिसावले पत्रकारिता क्षेत्रमा राष्ट्रिय पहिचान बनाउने थुप्रै पत्रकार धादिङले जन्माएको छ भन्दा अन्यथा नहोला । यतिबेला जिल्लाकै सन्दर्भमा पनि विगतको तुलनामा पत्रकारिताको राम्रो विकास भएको छ । हाल जिल्लामा रहेर राष्ट्रिय सञ्चार माध्यममा काम गर्ने सक्षम जनशक्ति उत्पादन मात्र भएको छैन
जिल्लामै व्यावसायिक पत्रकारिता गर्नेको जमात समेत ठूलै बनिसकेको छ । यतिखेर जिल्लाभरी सञ्चार क्षेत्रमा संलग्न सचारकर्मीको संख्या १५० को हाराहारीमा पुगिसकेको छ । यही अनुपातमा सञ्चार संस्थाहरूको पनि विकास भइरहेको छ । हालै मात्र आधुनिक मिडिया धादिङ् न्यूज डट् कम ले अनलाइन सेवा समेत शुभारम्भ गरिसकेको छ । एक तथ्याङ्क अनुसार धादिङबाट दुईवटा दैनिक, आधा दर्जनभन्दा बढी साप्ताहिक अखवार नियमित रूपमा प्रकाशित भइरहेका छन् । त्यसैगरी यहाँ सञ्चालनमा रहेका एफ एम रेडियोको संख्या पाँच छ भने एउटा टेलीभिजन च्यानल दर्ता भएको छ । यस कार्यले जिल्लामा कठिन परिस्थितिमा पत्रकारिता शुरु गर्ने सीताराम वर्मा, राजेन्द्रप्रताप शाह, केशव दवाडी लगायतका सञ्चारकर्मीको मनलाई प्रफुल्लित तुल्याएको हुनुपर्दछ । योसँगै पत्रकारितासँग आवद्ध संघ संस्थाहरू खुलेर व्यावसायिक पत्रकारितामा जुट्ने वातावरण बनिसकेको छ । पछिल्लो पटक गएको असार २१ गते प्रेस चौतारी नेपाल धादिङ्ले धादिङ्मा जन्मेर राजधानी लगायत देशका विभिन्न ठाउँमा रहेर लामो समयदेखि पत्रकारिता मार्फत देशको समग्र विकासमा योगदान पु¥याउने सञ्चारकर्मीहरूलाई गरेको सम्मानलाई उदाहरणको रूपमा लिन सकिन्छ । यसकार्यक्रम मार्फत् दिन खोजिएको सन्देशलाई जस्ले जसरी अथ्र्याउन खोजे पनि असल कार्यको सराहना गर्नै पर्दछ । समाजलाई सही बाटोमा ल्याउने वर्गको तर्फबाट बसाल्न खोजिएको परम्परा र संस्कारलाई अरु क्षेत्रले पनि प्रेरणाको रूपमा लिनसक्नुपर्दछ । यतिखेर यस किसिमको थालनी र संस्कार बसाउने संस्थाको रूपमा प्रेस चौतारी धादिङ देखिएको छ यसका लागि यो संस्था धन्यवादको पात्र बनेको छ । सम्मानका लागि प्रेस चौतारी धादिङले पंक्तिकारका साथै गोरखापत्रका कार्यकारी सम्पादक एवं असल मित्र कमल रिजाललाई आमन्त्रण गरेको थियो । साथीहरूको आग्रह बमोजिम गइयो र सम्मान पनि ग्रहण गरियो । सम्मानित अन्य सञ्चारकर्मीमा देवप्रकाश त्रिपाठी, किशोर श्रेष्ठ, ओम शर्मा, दीपक रिजाल, ऋषि धमला, शालिकराम तिवारी, गोपाल तिवारी, ध्रुवकुमार तुलाधर, सुवास खतिवडा, रुद्रप्रसाद भट्ट, एकल सिलवाल, सोहन सुवेदी, मिलन तिमल्सिना, देवराज रिमाल हुनुहुन्थ्यो । सम्मानका लागि निम्त्याइनु भएका जिवेन्द्र सिम्खडा, धु्रव सिम्खडा, प्रह्लाद रिजाल, नवराज लम्साल, मदन लम्साल लगायतका केही सञ्चारकर्मीको उपस्थिति रहननसकेको कुरा आयोजकको तर्फबाट जानकारी समेत पाइयो । वास्तवमा यो कार्यक्रम लोकप्रियताका लागि खास्टो ओडाउने होडबाजीमा सीमित थिएन । यसलाई आयोजक मित्रहरूले आत्मीय रूपमा सम्मान गरेको महशुूस भयो । नेकपा एमालेका नेता के पी शर्मा ओली प्रमुख अतिथि रहनुभएको कार्यक्रममा राजनीतिक दलको सहभागिता नरहने त कुरै थिएन तर, पनि कार्यक्रम सम्मानको परम्परा र सञ्चारको भूमिका र दायित्वकाका विषयमा केन्द्रित थियो । कार्यक्रमका प्रमुख व्यक्ति ओलीले समेत यो विशिष्ठ किसिमको कार्यक्रममा राजनीतिक कुरा गर्नु उपयुक्त हुँदैन भनेर कार्यक्रमलाई अझ ओजपूर्ण गराइ दिनुभयो । अघिपछिभन्दा भिन्न शैलीमा प्रस्तुत हुनुभएका उहाँले विकसित मुलुकको आर्थिक तथा सामाजिक अवस्था, हामीसँग भएको अपार साधन स्रोत, नेपाली राजनीतिको मानसिकता लगायतका विषयमा खुलेर चर्चा गर्नुभयो । नेपालको सबै अवस्था कमजोर रहेको उल्लेख गर्दैे हामी नेपाली नै भएर हास्न सकेका छौं भनेर सुनाउनु समेत भयो । उहाँ नेपाली सञ्चार क्षेत्रमा धेरै परिवर्तन भए पनि कतिपय सिक्ने क्रममा छन् भनेर पत्रकारिताको छाडा प्रवृत्तिप्रति टिप्पणी गर्न पनि चुक्नु भएन । यस हिसावले सञ्चारकर्मीको इज्जत र सम्मानमा बक्ताहरूको समय राम्रैसँग खर्च भएको थियो । एमाले नेता राजेन्द्र पाण्डे तथा एमाले जिल्ला राम्रै अध्यक्ष खेम लोहनीले पनि धादिङ्मा जन्मिएका पत्रकारहरूसँग जिल्लाले अपेक्षा राखेको उल्लेख गर्नुभयो । पाण्डेले पत्रकारले जे देख्यो त्यो लेख्न सक्नुपर्दछ भन्दै सामाजिक विकृति विसंगति रोक्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने कुरा राख्नुभयो भने लोहनीले धादिङ् पर्यटनको प्रशस्त संभावना बोकेको ठाउँ भएर पनि प्रचार प्रसारको अभावमा ओझेलमा परेकोतर्फ संकेत गर्दै राजधानीमा रहेर पत्रकारिता गर्ने सञ्चारकर्मीहरूसँग यसलाई उजागर गराउन आग्रह गर्नुभएको थियो । वास्तवमा यो अपेक्षा अन्यथा पनि होइन । राजधानी वा अन्य कुनै ठाउँमा रहेर पत्रकारितामा हैसियत कायम गरेका व्यक्तिले जन्मस्थलोको नाताले पनि जिल्लाको विकासको लागि केही न केही अवश्य गर्नुपर्दछ । समाज विभिन्न वाद र विचारमा विभाजित बनेको बेला यसभन्दा माथि उठेर पे्रस चौतारी धादिङले जुन काम गरेको छ,यो सबैका लागि अनुकरणीय विषय बनेको छ । यसले राजनीतिक दलहरूलाई समेत गतिलो सन्देश दिएको छ । सैद्धान्तिक आस्था र निष्ठाभन्दा पर रहेर पेशागत मर्यादा र सम्मान गर्ने जुन परम्परा र संस्कार बसालिएको छ यसले पत्रकारिता पेशाको मर्यादा बढाउनमा समेत सहयोग पु¥याउछ भन्ने विश्वास गर्न सकिन्छ तर समाजमा यस्ता कार्यले निरन्तरता भने पाउनु पर्दछ । यस कार्यले राजधानीमा रहेर पत्रकारिता गर्नेहरूसँग सम्बन्ध विस्तारमा समेत सहयोग गरेको छ । कार्यक्रममा वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीले राष्ट्रिय दायित्व निर्वाह गर्न नसक्ने व्यक्ति पत्रकार हुनसक्दैन भने झै धादिङका सञ्चारकर्मी पनि यस अनुरूप आफ्नो पेशामा सफल होऊन् भन्ने अपेक्षा पनि छ । जेहोस आफ्नो पेशासँग आवद्ध दुईवटा संस्थाको तर्फबाट आफ्नै गृहभूमिमा सम्मान हुने अवसर पाउनु मेरा लागि पनि खुसीको विषय बनेको छ । यसअघि नेपाल प्रेस युनियन धादिङ्ले २०६६ साल साउन ३० गते सम्मान गरेको यियो । उतिबेला कांग्रेस उपसभापति रामचन्द्र पौडेलको हातबाट सम्मान पाइएको थियो भने यो पटक एमाले नेता के पी शर्मा ओलीबाट । राजनीतिक आस्था फरक भए पनि यी दुवै नेताले मुलुकको प्रजातान्त्रिक अन्दोलनमा ठूलो संघर्ष गर्नुभएको छ र दुवैले लामो जेलनेलको लामो यातना भोग्नुभएको छ । यस हिसावले पनि उहाँहरू नेपाली राजनीतिमा आदर्श मानिनुहुन्छ । आफ्नै जन्मस्थलमा राजनीतिक आदर्श र निष्ठा बोकेका व्यक्तिहरूको हातबाट त्यसमा पनि आफ्नै पेशाप्रति आवद्ध संस्थाको तर्फबाट सम्मान पाउनु खुशीको कुरा हो । त्यतिबेला सम्मानित हुने सञ्चारकर्मीमा जिल्लामै क्रियाशील पत्रकारहरू सीताराम वर्मा, राजेन्द्रप्रताप शाह, लेखक तथा पत्रकार नवीन बन्धू पहाडी लगायतका व्यक्ति हुनुहुन्थ्यो । यो पटक प्रेस चौतारीले जिल्ला समितिले वीरेन्द्रशाह क्रियाशील पत्रकारिता पुरस्कार जिल्लामै रहेर पत्रकारितामा सक्रिय केशव अधिकारीलाई प्रदान गरेको छ । पत्रकारहरूको संस्था त्यसमा पनि मोफसलमा रहेका संस्थाले यस किसिमको पुरस्कार स्थापना गेरर सम्मान गर्नसक्ने हैसियत राख्नु ठूलै उपलव्धि मान्नुपर्दछ । प्रेस चौतारी धादिङका अध्यक्ष रामेश्वर कार्की लगायतका मित्रमा रहेको सक्रियताले अन्य संघ संस्थालाई समेत प्रेरित गर्न सकेमा यसको सार्थकता पनि बढेर जानेछ ।
गोरखापत्र अनलाईनवाट