कभर फोटो

धादिङको खाल्टेमा पहिलो पटक ‘क्यानोनिङ’ -खाल्टे र आसपासको क्षेत्रमा पर्यटनको प्रचुर सम्भावना

By धादिङ न्यूज

September 09, 2014

खाल्टे (धादिङ), – आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले धादिङको खाल्टे गाविसमा पहिलो पटक ‘क्यानोनिङ एक्सपोर’ सम्पन्न भएको छ ।

काठमाडौंको ठमेलमा रहेको कोल्डफिट एड्भान्चर र कोर एड्भान्चरको आयोजनामा खाल्टे–६ मा रहेको छहरे छाँगोमा क्यानोनिङ सम्पन्न भएको हो । स्थानीय र राजधानीबाट आएका टोलीले छहरेको छाँगोमा क्यानोनिङको मज्जा लिएका थिए । पहिलो पटक क्यानोनिङ गर्दै गरेका स्थानीय टोलीलाई कोल्डफिडका सञ्चालक उत्तम बहादुर अधिकारी (गोपी) कोरका भीष्मराज थपलियाले साथ दिएका थिए । स्वच्छ र कञ्चन पानीको ठूलो छाँगोमा गरिएको क्यानोनिङ कम्ता लोभलाग्दो थिएन । क्यानोनिङ गर्दै गरेको हेर्नेहरुको ठूलो भीड नै लागेको थियो । क्यानोनिङ गरिसकेपछि स्थानीय महेन्द्रदया कालिका माविका शिक्षक समेत रहेका ध्रुव खतिवडाले सुरुमा डर महशुस भएपनि पानीको छाँगोमा क्यानोनिङ गरेर भरपुर मनोरञ्जन लिएको प्रतिक्रिया दिए । आन्तरिक र बाह्य पर्यटकको प्रचुर सम्भावना बोकेको खाल्टे र आसपासका क्षेत्र प्रचार प्रसारको अभावमा पछि परेको भन्दै उनले क्यानोनिङ बाहेक रक क्याइमिङ, प्याराग्लाइडिङ, कल्चरल टुरिजम्लगायतको सम्भावना रहेको बताए । पछिल्लो समय पर्यटकलाई आकर्षित गर्ने खालका गतिविधि हुन थालेपनि सो पर्याप्त हुन नसकेको भन्दै स्थानीयले यसको तीब्र रुपमा विस्तार हुनुपर्नेमा जोड दिएका छन् । गोरुजात्रा, कालिका मन्दीर, चर्चित चमेरे गुफा, चर्चित बाहुन बाजा, प्राकृतिक मनमोहक वातावरण तथा स्थानीय संस्कृति खाल्टे र यसक्षेत्रको प्रमुख पर्यटकीय आकर्षण हो भने रक क्लामिङ तथा प्याराग्लाडिङको पनि सम्भावना रहेको छ । खाल्टेसँगै सीमा जोडिएको तारुका राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा ‘गोरु जुधाई प्रतियोगिता’ ले प्रसिद्धि कमाएको स्थान हो । खाल्टे र आसपासको क्षेत्रको व्यापक प्रचार प्रसार गर्न सके वर्षेनी हजारौं पर्यटक भित्र्याउन सकिने तथा स्थानीय स्तरमा अवसरकोसमेत सिर्जना हुने भएकाले आफूहरु यसको प्रचार प्रसारमा लागि परेको कोल्डफिटका एक सदस्य प्रकाश खतिवडाले बताए । कोल्डफिडका सञ्चालक अधिकारीले पनि पर्यटकहरुले यो क्षेत्रबारे चासो दिन थालेको भन्दै विस्तारै पर्यटकीय गन्तब्यको रुपमा स्थापीत हुने अवस्था देखिन थालेको बताए ।