मुख्य समाचार

चट्याङले लागेर एकको मृत्यु,आठ घाईते

By Dhading News

October 15, 2014

धादिङ,२९ असोज– मंगलवार राती परेको चट्याङले लागेर विजुलीको लाईन सर्ट हुंदा धादिङको महादेवस्थान गाविस वडा नम्बर ९ कुन्चुरुङमा एक बृद्धाको ज्यान जानुका साथै आठ जना घाईते भएका छन । दक्षिणी धादिङको अति विकटमा रहेको उक्त क्षेत्रमा मंगलवार वेलुकी ९.३० वजे तिर गाउंमा बितरण गरिएको लघु जलबिद्युत्त योजनाको विजुली तारमा चट्याङ परेपछि कुन्चुरुङका सात घरमा विद्युत्त सर्ट हुन पुगेको वताईएको छ । चट्याङ लागेर विजुली सर्टभई घर घरमा जथाभावी करेन्ट प्रवाह हुंदा घर भित्र सुतिरहेकी ७३ बर्षिया चरीमाया तामाङको घटनास्थलमानै ज्यान गएको स्थानीय सुनवहादुर तामाङले टेलिफोन मार्फत जानकारी दिनु भयो । गाउंमा बितरण गरिएको विजुलीको लाईन सर्ट हुंदा १० बर्षिया कल्पना मोक्तान,१४ बर्षिया कमला मोक्तान,६२ बर्षिया साईली थिङ,यसै गरी चिपवहादुर थिङ,८२ बर्षका रामलाल थिङ,२८ बर्षका कुमार तामाङ, १३ बर्षका कमल तामाङ र ६ बर्षका तिउला तामाङ घाईते हुन पुगेको गाउंलेहरुले वताएका छन । घटनास्थल पृथ्वीराजमार्गको गजुरी वाट ७ घण्टा टाढा रहेका कारण अति गम्भिर अवस्थामा रहेकी १० बर्षिया कल्पना मोक्तानलाई मात्र वोकेर उपचारका लागि गजुरी ल्याईएको र अन्य घाईतेहरु भने गाउंमै रहेको वताईएको छ । घटनस्थल विकटमा रहेको र गाउंमा संचार पहुंच समेत नभएकाले महादेवस्थान प्रहरी चौकीले ढिलागरी जानकारी प्राप्त गरेको तत्काल उद्धारका लागि पहल गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक वालकृष्ण पोखरेलले जानकारी दिनु भयो ।