केशव अधिकारी
धादिङ, ११ कात्तिक – एक हजार मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण कार्य अबको सात वर्षमा पुरा हुने भएको छ । आयोजनाको निर्माण कार्यमा कुनै अवरोध नआएमा अवको सात वर्ष भित्रमा बुढीगण्डकीवाट एक हजार मेगावाट बिद्युत्त उत्पादन हुनेछ ।
गोरखा र धादिङ जिल्लाको सिमाना भएर बग्ने बुढीगण्डकी नदीमा निर्माण गर्न लागिएको जलाशययुक्त परियोजनाबाट हिउँदको समयमा पनि पर्याप्त विद्युत्त उत्पादन हुनेछ । नेपाली श्रम, सीप र पुँजीको प्रयोग गरि पूरा गर्ने लक्ष्य लिइएको बुढीगण्ढकी आयोजना नेपालको दिगो विकास र लोडसेडिङ अन्त्यका लागि कोशेढुंगा बन्ने बुढीगण्डकी जलविद्युत्त आयोजना विकास समितिका अध्यक्ष डा. लक्ष्मी देवकोटाले बताउनुभयो । प्रस्तावित बुढीगण्डकी जलविद्युत्त आयोजना निर्माण हुँदा हरेक वर्ष २ सय ९० करोड यूनिट विद्युतीय उत्पादन हुने अध्यक्ष देवकोटाले बताउनुभयो ।
आयोजना सम्पन्न भएपछि विद्युत्ती उत्पादनसँगै बुढीगण्डकीमा बन्ने ६३ वर्गकिमीको तालबाट नेपालको पर्यटन विकासमा समेत योगदान पुग्ने छ । ताल वरिपरि चक्रपथ निर्माण गरि पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने भएको छ । प्रस्तावित बुढीगण्डकी आयोजनाको कारण निर्माण हुने ताल पोखराको फेवाताल भन्दा १५ गुणा ठूलो हुनेछ । फेवातालको क्षेत्रफल ४.२ वर्ग किलोमिटर मात्र रहेको छ । पृथ्वीराजमार्गको छेवैमा रहेको र राजधानीको पनि नजिक भएका कारण यस परियोजनाबाट निर्मित बाँधले नेपालको पर्यटकीय विकास सहयोगी बन्ने देखिन्छ । गोरखा जिल्लाको घ्यालचोक र धादिङ जिल्लाको सलाङ गाविसमा पर्नेगरि बुढीगण्डकी नदीमा २६३ मीटर अग्लो बाँध बनाई निर्माण गर्न लागिएको बुढीगण्डकी आयोजनाबाट गोरखाका १२ र धादिङका ११ गाविस प्रत्यक्ष प्रभावित हुनेछ ।
आयोजनाको प्रभावित क्षेत्रवाट १५ हजार भन्दा बढी जनसंख्यालाई अन्यत्र उचित व्यवस्थापन गर्नुपर्ने समितिका अध्यक्ष देवकोटाले बताउनुभयो । आयोजना समयमै सम्पन्न गरेर विद्युतभार कटौतीबाट मुक्ति दिने लक्ष्यसहित काम अघि बढाइएको बुढीगण्डकी जलविद्युत्त आयोजनालाई सरकारले राष्ट्रिय गौरवका आयोजनाको रुपमा अगाडि बढाएको छ । विकास समितिले गरेको अध्ययन अनुसार नेपाल सरकारको ७ वर्षसम्म प्रति वर्ष १० अर्बले ७० अर्ब, डुवान क्षेत्र, प्रभावित क्षेत्रका र पुनःस्थापन गर्ने स्थानका जनताको सम्पत्तिको केहि अंशबाट २० अर्ब तथा जागिरदार, श्रमिक, नागरिक सेयर र स्थानीय निकायहरुबाट ५ देखि १० अर्ब लगानी संकलन गर्न सकिनेछ । विपे्रषण ७ वर्षमा ८० अर्ब लगानी जुटाउन सकिने समितिको योजना रहेको छ । लगानीका लागि समितिले राष्ट्रिय वित्तीय संस्थाहरुबाट ३५ अर्ब, काठमाडौं, पोखरा र चितवनमा रहेका धादिङ र गोरखा जिल्लाका बासिन्दाहरुबाट ३५ अर्ब र एनआरएनबाट ६० अर्ब गरि ३ खर्ब नगद जम्मा गर्न सक्ने महत्वाकांक्षी योजना समितिले अघि सारेको छ । अहिलेको प्रस्तावित योजना अनुसार आयोजनाको निर्माण कार्य सम्पन्न गर्न २.२५ खर्ब खर्च लाग्नेछ ।
आयोजनाको परामर्शदाता फ्रान्सको ट्राक्टवेल इञ्जिनियरिङ कम्पनी र उर्जा मन्त्रालय तथा नेपाल विद्युत्त प्राधिकरणको उच्च स्तरीय प्राविधिक टोलीले आयोजनाको डिपिआर अध्ययन गरिरहेको अध्यक्ष देवकोटाले बताउनुभयो । बुढीगण्डकी आयोजना निर्माण भएपछि सुख्खायाममा ३५० घनमीटर पानी उपलब्ध हुने र यसबाट आयोजना आसपासका साथै चितवन र नवलपरासी जिल्लामा समेत सिंचाइको अवसर पुग्ने छ । आयोजनालाई बहुउद्धेश्यिय बनाउन समितिले माछापालन, पानी खपत हुने उद्योग, आलुमिनियम, पर्यटन–भौतिक पूर्वाधारका लागि आधुनिक वस्ती विकासका साथै आयोजनालाई अनुसन्धानसँग जोड्ने बिषयमा बिज्ञहरुसँग छलफल भैरहेको छ ।