मुख्य समाचार

बिद्यालयमा आर्थिक हिनामिना र अनियमितता बढेको भन्दै अभिभावकले लगाए ताला

By धादिङ न्यूज

October 29, 2014

केशव अधिकारी

धादिङ, १२ कार्तिक ः बिद्यालयमा आर्थिक हिनामिना र अनियमितता बढेको भन्दै धादिङको किराञ्चोक वडा नं. ८ स्थित पञ्चकन्या निम्न माध्यामिक विद्यालयमा अभिभावकले ताला लगाएकाछन् ।

बिद्यालयको आर्थिक कारोवार पारदर्शी हुन नसकेको भन्दै अभिभावकहरुले पटक पटक विद्यालयको भेला वोलाउन माग राख्दै आएपनि वेवास्ता गरेको आरोपमा मंगलवार ७ वुदें माग राखेर अभिभावकहरुले विद्यालय प्रशासन कक्षमा ताला लगाएका हुन । बिद्यालयमा ताला लगाएपछि अभिभावकहरुले सामुहिक हस्ताक्षर गरी सार्वजनिक सूचना समेत टांस गरेका छन । अभिावकहरुद्धारा जारी गरिएको सूचनामा उल्लेख भए अनुसार विद्यालय बन्द गर्नुपर्नाको मुख्य कारणमा विद्यालयको ३ लाख ३२ हजार ३ सय ७९ रुपैयां लामो समय देखि विद्यालयको खातामा दाखिला नभएको, विद्यालय खाजा कार्यक्रम नियमित हुननसकेर्को, विद्यालयको नाममा रहेको जस्तापाता बिद्यालयमा दाखिला नभएको तथा विद्यालय व्यवस्थापन समिति गठन हुन नसकेको बिषयलाई उल्लेख गरिएको छ । अभिभावकहरुले विद्यालयमा आवश्यक फर्निचर व्यवस्था गर्नु पर्ने, नियमित रुपमा १०–४ वजेसम्म कक्षा सञ्चालन हुनु पर्ने, नियमित स्टाफ वैठक हुनु पर्ने बिषयलाई पनि मागका रुपमा राखेका छन । अभिभावकलाई वेवास्ता गरी प्रधानाध्यापकले विद्यालयमा अनियमतिता बढ्दै जानुमा प्रधानाध्यापक र निवर्तमान व्यवस्थापन समिति जिम्मेवार रहेको अभिभावहरुको भनाई छ । २०७० फागुनमा पदावधि समाप्त भएका व्यस्थापन समितिका अध्यक्ष शम्भु भण्डारीले बिद्यालयको नाममा रहेको ३ लाख रुपैयां फिर्ता नगरेको कारण अभिभावकहरुले विद्यालयमा ताला लगाएको प्रधानाध्यापक रामजी श्रेष्ठले बताउनु भयो । यता अध्यक्ष भण्डारीले भने आफुले ३ लाख नभई २ लाख रुपैया मासेको र सो रकम कार्तिक १५ गते अभिभावकहरु बिचमा बुझाउने वताएका छन । प्रधानाध्यापकवाट भएका सबै कमजोरीको जिम्मेवारी आंफुले लिन नसक्ने भण्डारीको भनाई छ । व्यवस्थापन समितिको २०७० फागुनमा पदावधि समाप्त भएपछि प्रधानाध्यापक श्रेष्ठले अभिभावक भेलानै नडाकी काका नाता पर्ने यमलाल श्रेष्ठ लाई अध्यक्ष भएको घोषणा गरेपछि अभिभावकहरु विरोधमा उत्रिनु परेको एक अभिभावकले वताए । श्रेष्ठपछि र सन्त विश्वकर्मालाई अध्यक्ष घोषणा गरेपनि अभिभावकहरुले अध्यक्ष नस्वीकारेपछि बिद्यालयको अनियमिताका बिषयमा रहस्य वाहिर आएको अभिभावकहरुको भनाई छ । बिद्यालयमा वढ्दै गएको समस्या समाधानका लागि पटक पटक व्यवस्थापन समिति गठन गर्न आयोजना गरेको भेलामा जिल्ला शिक्षा कार्यालयका किराञ्चोक वैरेनी श्रोत केन्द्रका श्रोत व्यक्ति शेर बहादुर अधिकारी उपस्थित नभएका कारण भेला रोकिन पुगेको अभिभावकहरुको भनाई छ ।

श्रोत व्यक्तिले कर्मचारीको भूमिका निर्वाह नगरी राजनैतिक कार्यकर्ताको भूमिका निर्वाह गर्ने गरेकाले समिति गठन हुन नसकेको अभिभावकहरुको आरोप छ । बिद्यालयमा भएको अनियिमतताको छानविन गरी सत्य तथ्य वाहिर ल्याई दोषि माथि कारवाही नभएसम्म ताला नखुल्ने अभिभावकहरुको चेतावनी छ ।