नुवाकोट, १४ कात्तिक । नुवाकोटको बेतिनी गाउँ विकास समितिको वडा नं ५ की एक महिलालाई स्थानीयवासीले बोक्सीको आरोप लगाई कपाल मुण्डन गरी कुटपिट तथा दुव्र्यवहार गरेका छन् ।
महिलालाई दुव्र्यवहार गरेको आरोपमा नुवाकोट प्रहरीले मुख्य नाइके ३५ वर्षीया सुनीमायाँ तामाङ र ३१ वर्षीया मनमायाँ तामाङलाई पक्राउ गरेको छ ।
यही कात्तिक ९ गते स्थानीय महिलाले बोक्सी भएको आरोप लगाउँदै साँझ ५ बजेको समयमा हँसियाले कपाल काटी, मलमूत्र खुवाउने प्रयाससमेत गरेको र शरीरको विभिन्न स्थानमा चोट लाग्ने गरी कुटपिटसमेत गरेको पीडित महिलाले बताउनुभएको छ ।
पीडितले नाम नै किटानी गरी दिएको उजुरीको आधारमा पीडकहरु सुनीमायाँ तामाङ र मनमायाँ तामाङलाई जिल्ला अदालत नुवाकोटमा बोक्सीको आरोप लगाई यातना दिएको मुद्दामा म्याद थप गरी कारबाही सुरु गरिएको नुवाकोटका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक अरुण पौडेलले जानकारी दिनुभएको छ ।
घटनामा संलग्न रहेकाको पहिचान गरी नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरी प्रमुख पौडेलले जानकारी दिनुभएको छ ।