राष्ट्रिय समाचार

प्राचीन ताडपत्रहरुको संरक्षण प्रक्रिया थालिने

By Dhading News

October 31, 2014

काठमाडौँ, १४ कात्तिक । राष्ट्रिय अभिलेखालयले प्राचीन ताडपत्रहरुको संरक्षण प्रक्रिया सुरु गर्ने भएको छ ।

लगभग दुई हजार २०० को सङ्ख्यामा रहेका ताडपत्रहरु संरक्षणको अभावमा जीर्ण बन्दै गएपछि अभिलेखालयले संरक्षणको प्रक्रिया थाल्न लागेको हो ।

राष्ट्रिय अभिलेखालयका प्रमुख प्रकाश दर्नालका अनुसार लगभग एक हजार वर्ष अघिदेखिका ताडपत्रमा लिखित ग्रन्थहरु अभिलेखालयले संरक्षण गर्दै आएकामा ती अति पुराना भएका कारण तिनीहरुको थप संरक्षणको आवश्यकता देखिएकाले अभिलेखालयले संरक्षणको प्रक्रिया अघि बढाएको हो ।

जयस्थिति मल्लको समयकोे न्याय विकासिनीदेखि प्राचीन स्कन्धपुराणलगायतका ग्रन्थहरु ताडपत्रमा लेखिएको जानकारी गराउँदै उहाँले ती ताडपत्रहरुको संरक्षणका लागि तिनीहरुमा तत्काल गाता हालिने र प्रत्येक ताडपत्रका लागि किराले खान नसक्ने छुट्टाछुट्टै किसिमका बाकस निर्माण गरी संरक्षण गर्न लागिएको बताउनुभयो ।

अभिलेखालयले आठौँ शताब्दीमा पाली भाषामा लेखिएको विनयपिटक, आठौंँ शताब्दीकै बुद्ध दर्शनमा आधारित सद्धर्म पुण्डरिक, दशौँ शताब्दीको करण्यव्युहजस्ता दुर्लभ ग्रन्थहरु संरक्षण गर्दै आएको छ ।

त्यस्तै, अभिलेखालयमा भोजपत्रमा लेखिएका चण्डीको पुस्तक, महाभारतका १८ पर्वमध्ये केही पर्व उल्लेख गरिएको सूक्ष्माक्षरलगायतका पुस्तकहरु पनि संरक्षित छन् ।

प्राचीन हस्तलिखित ग्रन्थहरुका साथै विश्वकै सानो पुस्तक पनि अभिलेखालयले संरक्षण गरेर राखेको छ ।

६×६×२.५ मिलिमिटरको उक्त पुस्तकमा सात युरोपेली भाषामा देवताका प्रार्थनाहरु लेखिएको छ ।

अभिलेखालयकी हस्तलिखत शाखाकी कर्मचारी मनिता न्यौपानेका अनुसार अभिलेखालयमा उपलब्ध जानकारीमा फ्रेथक पुस्तक प्रदर्शनी मेलाका डाइरेक्टर फ्रेज टाउवर्टले उक्त पुस्तक दिएको भन्ने उल्लेख गरिएको छ ।

सामान्य आँखाले पुस्तकका अक्षरहरु अध्ययन गर्न नसकिने जानकारी गराउँदै उहाँले अक्षरहरु हेर्नका लागि अत्यन्त शक्तिशाली चस्माको प्रयोग आवश्यक हुने पनि बताउनुभयो ।