कभर फोटो

महेशदोभानमा रहेको अम्लेश्वर मन्दिरमा एकादशी मेला

By धादिङ न्यूज

November 03, 2014

महेशदोभान– हरिबोधिनी एकादशीको अवसरमा पारेर धादिङ जिल्लाको बैरेनी गाविसको महेशदोभानमा रहेको अम्लेश्वर महादेव मन्दिरमा एकादशी मेला सम्पन्न भएको छ । बैरेनी गाविस वडा नं ९ महेशदोभानको त्रिशूली नदी किनारमा रहेको अम्लेश्वर महादेव मन्दिरको दर्शन तथा पूजाआजा गर्न दर्शनार्थीको ठूलो भीड लागेको स्थानीय देविवहादुर मल्लले जानकारी दिनु भयो । परिवार तथा आफन्तहरुको मृत्यु भएकाहरुले मृतकको सम्झनामा हरेक बर्षको हरिवोधिनी एकादशीको अघिल्लो राती यस मन्दिरमा रातभरी जाग्राम वसी वत्ती वाल्ने प्रचलन रहेको छ । यसरी बत्ती वाल्दा मृतात्माले शान्ति पाउने विश्वास रहि आएको छ । भगवान् विष्णुलाई पुज्ने दिनका रुपमा रहेको हरिबोधिनी एकादशीका दिन अम्लेश्वर महादेवको मन्दिरमा २ सय ५० वर्षअघिदेखि नै मेला लाग्दै आएको किंवदन्ती रहेको स्थानीय बुढापाकाहरुको भनाई छ ।

तत्कालीन राजा पृथ्वीनारायण शाह नेपाल एकिकरणका क्रममा यस ठाउंमा आई वास वसेको वेला सपनामा हातभरी सयौं औला भएका भगवानले शाहलाई आर्शिवाद दिएको र सो आर्शिवाद पुरा भएपछि पृथ्वीनारायण शाहले सोही ठाउंमा मन्दिर वनाएर छाडेको बताईन्छ । काठमाण्डौंको चारनारायण स्थान जान नसक्ने हरुले यस मन्दिरमा आएर पुजाआजा गर्ने गर्दछन । गोसाईकुण्डवाट बगेर आएको त्रिशूली नदीको किनारमा रहेका कारण मन्दिर क्षेत्रलाई पबित्र स्थलका रुपमा लिने गरिन्छ । हरिबोधिनी एकादशीको दिन पूजा गर्नाले मनोकांक्षा पूरा हुने र परिवारमा बिरामी नहुने धार्मिक विश्वास समेत रहेको छ । मन्दिरमा पुजाआजा पछि कतिपय भक्तजनले भाकल अनुसारको फुलको डोली समेत चढाउने गर्दछन ।

ठुलो एकादशी भनेर चिनिने हरिवोधिनी एकादशीका दिन ढिकी, जाँतो नचलाइने र चलाएमा भगवान् महादेवको अवमूल्यन हुने भएकाले कन्दमूल तथा फलफूल खाने चलन रहेको छ ।

अम्लेश्वर महादे मन्दिर क्षेत्रलाई धार्मिक पर्यटन क्षेत्रका रुपमा विकास गर्न स्थानीयवासी सक्रिय भएर लागि परेका छन ।