कृषि/पशुपालन /सहकारी

धानमा असिना लागेपछि राहतमा गहुंको बिउ

By Dhading News

November 12, 2014

धादिङ, २६ कात्तिक – कात्तिक महिनाको दोश्रो हप्तामा परेको असिना पानीले क्षती पुर्याएको तरकारी तथा फलफूल वालीको बिकल्पमा धादिङका किसानलाई राहत स्वरुप गहुं र मकैको बिउ प्रदान गरिने भएको छ । धादिङको सल्यानटार,बुढाथुम,बसेरी,त्रिपुरेश्वर गाविसका साथै नीलकण्ठ नगरपालिका र अन्य स्थानमा समेत कात्तिक महिनाको दोश्रो साता परेको असिना पानीले लाखौं रुपैयाँको फलफूल र तरकारी वालीमा क्षती गरेको थियो । मुखमा आईसकेको वाली भित्र्याउने वेलामा असिना पानीले क्षती पुर्याएपछि समस्यामा परेका किसानलाई जिल्ला कृषि विकास कार्यालयले राहत स्वरुप गहुंको बिउमा ५० प्रतिशत र मकैको बिउमा ७५ प्रतिशत सम्म अनुदान दिन लागेको हो । धादिङका बरिष्ठ कृषि विकास अधिकृत महेन्द्रराज कौडालका अनुसार यो बर्ष धादिङ जिल्लामा ढिला पानी परेका कारण र फल भित्रयाउने वेलामा असिना पानीले क्षती गरेपछि किसानहरुलाई करोडौंको नोक्सानी हुन पुगेको छ । असिना पानीका कारण नोक्सानी व्यहोरेका किसानलाई उनिहरुको मागका आधारमा विउमा अनुदान दिन कृषि विकास मन्त्रालयले निर्देशन दिएकाले जिल्लाले पनि सोही अनुसार बितरणको व्यवस्था मिलाउनु परेको कौडालको भनाई छ । अघिल्लो बर्ष धादिङ जिल्लामा १६ हजार ५ सय ४५ हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा ४४ हजार ९९ सय मेट्रिक टन धान उत्पादन भएकोमा यो बर्ष भने उत्पादन निकै घट्न सक्ने जिल्ला कृषि विकास कार्यालय धादिङको अनुमान छ ।