धादिङ,- दक्षिणी धादिङको महाभारत श्रृङखलाका वनजंगलमा बहुमुल्य जडिबुटी पाईएपनि जडिबुटीको पहिचान र संरक्षण हुन नसक्दा त्यसै खेर गईरहेको छ । उच्च पहाडी क्षेत्रको वन पखेरामा पाइने बहुमूल्य जडिबुटीको पहिचान र महत्व बुझ्न नसक्दा बर्षेनी लाखौं रुपैया खेर गईरहेको छ । दक्षिणी धादिङको वन पखेरामा पाइने पाखनवेद, गाइखुरे, ठूलोओखती, चुक्रे, चिप्ले लगायतका जडिबुटीको महत्व स्थानीयले थाहा नपाउँदा त्यसै खेर जानेको गरेको हो । दक्षिणी धादिङको महादेवस्थान, धुषा,जोगिमारा लगायतका गाविसको उच्च भेग जडिबुटीका लागि प्रख्यात रहेको नेपाल चेपाङ संघका केन्द्रिय अध्यक्ष जितेन्द्र चेपाङ बताउनुहुन्छ । स्थानीयले सबै जडिबुटीको पहिचान र यस्को प्रयोगको वारेमा जानकारी लिन नसक्दा घाँस, दाउराका रुपमा प्रयोग हुंदै आईरहेको चेपाङले वताउनु भयो । चेपाङ समुदायले भने गाइखुरे, चुक्रे, ठूलो ओखतीलगायतका जडिबुटी घरायसी औषधिका रुपमा प्रयोग गरेपनि यस्को संरक्षण गरी वजार सम्म लैजान भने नसकेको चेपाङ अगुवाहरु बताउंछन । महाभारत क्षेत्रमा पाईने केही जडिबुटीलाई घोलेर महमा राखी खांदा सुत्केरी महिलाको जीउ दुखेको निको हुने, ठोक्किएको वा भाँच्चिएको ठाउँमा लगाउँदा हड्डी जोडिने स्थानीय वताउंछन । यसैगरी अन्य विरामीलाई पनि जडिबुटी खुवाउंदा रोग निको हुने गरेको उनिहरुले वताए । दक्षिणी धादिङको महाभारत श्रृङखलामा पर्ने वन जंगल र पखेराहरुमा रक्तचन्दन, श्रीखण्ड, हर्रोबर्रोे, जैतुन, रुद्राक्ष, सर्पगन्ध, गुरजो, गाईखुरे, हरचुर, सुनगाभा लगायतका बहुमूल्य जडिबुटीहरु पाईने स्थानीयहरुको भनाई छ । संरक्षणको अभावमा वन जंगलमा त्यसै खेर गईरहेको जडिबुटीलाई व्यवस्थित गर्दै यस क्षेत्रमा औषधि उत्पादन गरी बिक्री बितरण गर्न सके विपन्न चेपाङको जिवनस्तरमा सुधार ल्याउन सकिने खाद्यअधिकार कर्मी राजेन्द्र बस्नेत बताउनुहुन्छ ।