घटना /दुर्घटना/ अपराध

हत्या अभियोग लागेका दुई फरार अभियुक्त पक्राउ

By धादिङ न्यूज

November 20, 2014

धादिङ,४ मंसिर-विभिन्न अपराधमा संलग्न भएको आरोपमा अदालतवाट दण्ड सजायं तोकिएका व्यक्तिहरु धादिङमा धमाधम पक्राउ पर्न थालेका छन । तीन महिनाको बिचमा धादिङ प्रहरीले सात जना फरार अभियुक्त पक्राउ गरिसकेको छ । यसक्रममा पछिल्लो पटक दुई जना फरार अभियुक्त पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

प्रहरी नायव उपरिक्षक प्रकाश मल्लका अनुसार पछिल्लो पटक पक्राउ पर्नेमा नुवाकोट जिल्लाको सामरी गाविस घर भएका २७ बर्षिय सोमवहादुर र धादिङको पिडा गाविस २ का काईला भनिने रणवहादुर तामाङ रहेका छन । नुवाकोटको सामरी गाविस ९ घर भई धादिङको सेमजोङ वडा नम्बर ६ टिकाढुङ्गा स्थित ससुराली आएका पहलमान तामाङको हत्या पछि फरार रहंदै आएका सोमवहादुर मंसिर १ गते पक्राउ परेको प्रहरीले जनाएको छ । सोमवहादुर लगायतको समुह मिलेर २०७० माघ २४ गते राती धारिलो हतियार प्रहार गरी पहलमानको हत्या गरेका थिए । सोही अभियोग लागेका धादिङ धुंवाकोटका राजकुमार तामाङ यस अघिनै पक्राउ परिसकेका छन । हत्यामा संलग्न रहेका केही व्यक्ति अझै फरार रहेको र उनिहरुको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

त्यसै गरी सर्वोच्च अदालतको मिति २०६० असोज ९ गतेको फैसलाले सर्वस्व सहित १९ वर्ष १० महिना २८ दिन कैद हुने गरी फैसला गरेपनि फरार रहंदै आएका धादिङको पिडा गा.वि.स.वडा नं.२ गलौदी बस्ने वर्ष ६२ को काईला भन्ने रण बहादुर तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ । तामाङलाई पनि मंसिर २ गते आफ्नै घरवाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई मंसिर ३ गते धादिङ जिल्ला अदालतमा पेश गर्दा अदालतले पुर्पक्षको लागि कारागार पठाउने निर्णय गरेपछि दुवैजनालाई बुधवारनै कारागार चलान गरिएको प्रहरी नायव उपरिक्षक मल्लले जानकारी दिनु भयो ।