राजनीति

मोदी नआउने भएपनि श्रीलङ्काली राष्ट्रपति राजापाक्षको लागि सिंगारियो लुम्बिनी

By धादिङ न्यूज

November 23, 2014

 

 अठारौँ सार्क सम्मेलनको पूर्व सन्ध्यामा लुम्बिनी भ्रमणमा आउन लाग्नुभएका श्रीलङ्काली राष्ट्रपति महिन्दा राजापाक्ष लुम्बिनीमा आउने पक्का भएपछि यहााको सुरक्षा व्यवस्थासहितको तयारी पूरा भएको छ । श्रीलङ्काली राष्ट्रपति राजापाक्ष लुम्बिनी आउने भएपछि लुम्बिनीलाई विशेष चासोका साथ हेरिएको छ । लुम्बिनीमा सार्कका विशिष्ट पाहुनालाई स्वागत गर्न भौतिक निर्माण, सौन्दर्य र सुरक्षासँग सम्बन्धित सम्पूर्ण तयारी पूरा भएको लुम्बिनी विकास कोषले जनाएको छ । पर्सि ९ गते मङ्गलबार लुम्बिनी भ्रमणका लागि आउन लागेका श्रीलङ्काली राष्ट्रपति राजापाक्षको स्वागतका लागि लुम्बिनी विकास कोषले सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ । सरकारले श्रीलङ्काका राष्ट्रपतिको स्वागतका लागि युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेललाई जिम्मेवारी दिएको छ । विशिष्ट पाहुनाको स्वागतका लागि रुपन्देही, कपिलवस्तु र नवलपरासीका सभासद्, पूर्वसभासद्, विभिन्न दलका प्रमुख, सङ्घसंस्थाका विशिष्ट व्यक्ति, सरकारी कार्यालयका प्रमुख र सञ्चारकर्मीसमेत रहेको नागरिक अभिनन्दन तथा स्वागत समिति बनाइएको छ । उनको सुरक्षाका लागि पूर्ण व्यवस्था मिलाइएको लुम्बिनी अञ्चलका वरिष्ठ प्रहरी उपरीक्षक गणेश केसीले जानकारी दिए । राजापाक्षको भ्रमणको सुरक्षाका लागि विशिष्ट किसिमको एकीकृत सुरक्षा योजना बनाइएको प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले जानकारी दिए । स्थानीय प्रशासनले सवारी साधन, मन्दिर, मस्जिद, गुम्बालाई विशेष सुरक्षाको घेरामा राखेको जनाएको छ । प्रहरीले यस क्षेत्रको मुख्य नाका सुनौली, कालीदह, ककरहवा नाकालगायतमा तालिम प्राप्त कुकुरको सहयोगमा सुरक्षालाई कडा बनाएको छ । यस्तै, लुम्बिनीको तीन नं प्रवेशद्वार तथा केन्द्रीय नहरको उत्तरतर्फको सडक निर्माण गरी चिटिक्क पारिएको लुम्बिनी विकास कोषले जनाएको छ । मायादेवी मन्दिर अगाडिको पोखरी छेउको घाँस काटेर सफा र सुन्दर बनाइएको छ । अतिथि स्वागतगृहलाई आकर्षक रुपमा सिागारिएको छ । यस्तै कोषले लुम्बिनीमा विशिष्ट पाहुनाको हेलिकप्टर अवतरण गर्न सुरक्षा निकायको अनुरोधमा तीन हेलिप्याड निर्माण गरिएका छन् । हेलिप्याडबाट मायादेवी मन्दिरसम्म पुग्ने सडक मर्मत गरिएको लुम्बिनी विकास कोषका सदस्य सचिव अजितमान तामाङले जानकारी दिए । सवारी पार्किङस्थल सम्याएर व्यवस्थित बनाइएको छ । लुम्बिनीलाई आकर्षक बनाउनका लागि झन्डै रु एक करोड ५० लाख खर्चिइएको छ । लुम्बिनी भ्रमणमा रहँदा श्रीलङ्काली राष्ट्रपति राजापाक्षले श्रीलङ्काली तीर्थयात्री विश्रामगृह, लुम्बिनी बौद्ध विश्वविद्यालय, श्रीलङ्का सरकारको सहयोगमा निर्मित पुल र सडकको उद्घाटन गर्नुका साथै मायादेवी मन्दिरस्थित श्रीलङ्काली विहारमा विशेष पूजा गर्ने कार्यक्रम पनि रहेको उल्लेख गरिएको छ । यसअघि, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि लुम्बिनी भ्रमणमा आउने भनिएता पनि उनको हिजो अर्थात शनिबार लुम्बिनीलगायत सबै धार्मिक भ्रमण रद्द भएको भारतीय विदेश मन्त्रालयले जानकारी दिएको छ ।