राष्ट्रिय समाचार

भारतीय प्रधानमन्त्री मोदी सार्क सम्मेलनमा मात्र सहभागी हुने

By Dhading News

November 23, 2014

काठमाडौँ, ७ मङ्सिर । भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को अठारौँ शिखर सम्मेलनका क्रममा काठमाडौँको मात्र भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले स्पष्ट पारेको छ ।

उक्त मन्त्रालयले आईतवार एक विज्ञप्ति जारी गरी भारत सरकारले नेपाल सरकारलाई प्रधानमन्त्रीको भ्रमणबारे औपचारिक जानकारी दिएको हो ।यस अघि मोदीले जनकपुर, लुम्विनी र मुक्तीनाथ लगायतका स्थानमा धार्मिक भ्रमण गर्ने भन्दै स्वागतको लागि विभिन्न तयारी समेत गरिएको थियो ।

भारतमा प्रधानमन्त्रीका अपरिहार्य प्रतिबद्धता तथा देशभित्रकै पूर्वनिर्धारित यात्राका कारण जनकपुर, लुम्बिनी र मुक्तिनाथको भ्रमण सम्भव नभएको जानकारी भारत सरकारले गराएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री मोदीलाई जनकपुर, लुम्बिनी र मुक्तिनाथमा स्वागत गर्न नेपाल सरकारले आवश्यक तयारी पनि प्रायः पूरा गरिसकेको थियो । गत साउनमा नेपाल भ्रमणमा रहँदा प्रधानमन्त्री मोदीले ती क्षेत्रको भ्रमण गर्न इच्छा प्रकट गर्नुभएको थियो । सोहीअनुरुप सरकारले आवश्यक व्यवस्था मिलाएको पनि मन्त्रालयको विज्ञप्तिमा छ ।