कभर फोटो

क्योकुसिन टोली चीन प्रस्थान

By धादिङ न्यूज

November 29, 2014

काठमाडौं– १६औं अलएसियन खुला फुलकन्ट्याक्ट कराँते च्याम्पियनसिपमा सहभागी हुन दुई खेलाडीसहित चार सदस्यीय नेपाली टोली बिहीबार चीनको सांघाई प्रस्थान गरेको छ । २८ नोभेम्बरदेखि २ डिसेम्बरसम्म हुने च्याम्पियनसिपमा समान एक–एक पुरुष र महिला खेलाडीले खुला तौल समूहमा नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

पुरुषमा ज्ञानबहादुर तामाङ र महिलामा निर्मला वज्राचार्यले प्रतिस्पर्धा गर्नेछन् । अफिसियलमा नेपाल क्योकुसिन कराँते डो संघका उपाध्यक्ष रविन्द्र सुन्दर सैंजु र रविन्द्र महर्जन छन् ।

नेपालमै भएको दोस्रो दक्षिण एसियाली फुलकन्ट्याक्ट कराँतेका कांस्यधारी ज्ञानबहादुरसँग यसै च्याम्पियनसिपको १३औं संस्करणमा पनि खेलेको अनुभव छ । निर्मलाको भने यो ‘डेब्यू’अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।

एसियाली च्याम्पियनसिपमा नेपालले हालसम्म २ स्वर्ण, १ रजत र २ कांस्य जितेको छ । पहिलो संस्करणमा हाल नेपाल क्योकुसिन कराँते डो संघका अध्यक्षसमेत रहेका सिहान जगतप्रसाद गौचनले स्वर्ण जितेका थिए । अर्को एक संस्करणमा रुपेश डंगोलले स्वर्ण प्राप्त गरेका थिए । त्यस्तै, १३औं संस्करणमा ज्योति तामाङले रजत जितेकी थिइन् । दोस्रोमा रामजीप्रसाद बज्राचार्य र आठौंमा रविना मानन्धरले कांस्य जितेका थिए ।

टोलीलाई सफलताको शुभकामना दिँदै नेपाल क्योकुसिन कराँते डो संघका अध्यक्ष सिहान जगतप्रसाद गौचन, प्रथम उपाध्यक्ष पुष्पमान मानन्धर, महासचिव रामजीप्रसाद बज्राचार्यलगायतले एक कार्यक्रमबीच बिदाइ गरे राजधानी  दैनिकमा खबर छापिएको छ ।  ।