कभर फोटो

धादिङ जिल्ला अस्पतालमा एआरटी सेन्टर खुल्यो

By धादिङ न्यूज

November 30, 2014

धादिङ,१४ मंसिर- एचआईभी संक्रमितहरुको उपचारलाई सहज वनाउन आईतवारदेखि धादिङ जिल्ला अस्पतालमा एआरटी सेवा सञ्चालनमा आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले बिश्व एडस दिवसको पुर्व सन्ध्यामा उक्त केन्द्रको उदघाटन गर्नुभएको हो । जिल्ला अस्पतालमा एआरटी सेन्टर संगै संक्रमित महिला गर्भवती भएमा उनीवाट जन्मने बच्चालाई संक्रमणवाट जोगाउने उपचार विधि (पिएमटिसिटी) पनि शुरुवात गरिएको छ । आईतवार सांझ धादिङ जिल्ला अस्पतालमा आयोजित एक कार्यक्रममा दुवै सेवाको मन्त्री अधिकारीले उदघाटन गर्नुभएको थियो । जिल्लामा एआरटी सेन्टर सेवा शुरु भएपछि एआरटी सेवाका लागि काठमाण्डौं,नारायणगढ,पोखरा, त्रिशूली लगायतका स्थान पुग्न वाध्यहुंदै आईरहेका संक्रमितहरुलाई उपचारमा सहज हुने धादिङ प्लसका अध्यक्ष चन्द्रप्रकाश गुरुङले वताउनु भयो । जिल्लामा अहिले १ सय ५९ जना संक्रमितले एआरभि सेवा लिईरहेको भएपनि एआरटीका लागि भने जिल्ला वाहिर जानुपर्ने वाध्यता रहेको थियो । धादिङ जिल्ला अस्पताल विकास समितिका अध्यक्ष प्रेमनाथ सिलावालको अध्यक्षतामा भएको एआरटी सेन्टर उदघाटन कार्यक्रमलाई राष्ट्रिय यौनरोग तथा एड्स केन्द्रका निर्देशक डाक्टर दिपेन्द्ररमण सिंह, पुर्वमन्त्री एवम सभासद गंगालाद तुलाधर,नेपाली कांग्रेसका सचिव भक्त लामा, एकीकृत नेकपा माओवादीका अध्यक्ष रामवहादुर भण्डारी, नेकपा एमालेका अध्यक्ष भुमि त्रिपाठी,संक्रमितहरुको तर्फवाट धादिङ प्लसका अध्यक्ष चन्द्रप्रकाश गुरुङ लगायतले सम्वोधन गरेका थिए ।

यसैगरी विश्व एड्स दिवसको पुर्व सन्ध्यामा हाम्रो पहुंच गोरखा तथा जिल्लाका विभिन्न संस्थाहरुको आयोजनामा धादिङबेसी पुछारवजार मुलचोकमा २०१४ वटा मैनबत्ती वालिएको छ । एचआईभी संक्रमित वालवालिकाको शैक्षिक सहयोगका लागि आयोजना गरिएको शशुल्क दिप प्रज्वलन कार्यक्रमको पनि मन्त्री अधिकारीले उदघाटन गर्नुभएको थियो ।