कभर फोटो

कोटवाडामा मारिएकाहरुको वारेमा हेकराङमा बृतचित्र प्रदर्शन

By Dhading News

December 08, 2014

हेक्राङ (धादिङ), मंसिर २१ – पृथ्वी राजमार्गको हुग्दीखोला तिरैतिर जिल्ला विकास समितिले निर्माण गरेको कच्ची दुई किमि अनि वनमाराले छोपेको ठाडै डोरेटो । पानी नपरे पनि चिप्लेर ओर्लने डरले कृषिजन्य उत्पादनको भारी बोकेका स्थानीयवासी डराई-डराई ओरालो झर्दैछन् इ कान्तिपुर  डटकमले खबर छापेको छ ।

राजमार्गदेखि नजिकै रहेर पनि निकै ठाडो र वरपरको भीरपाखा, खेती प्रणाली, बसोबासको अवस्था र स्थानीयवासीको जीवनशैलीले दुर्गम कणर्ालीको कालिकोटकै झझल्को दिन्छ ।

रेडक्रस जिल्ला शाखाले द्वन्द्वपीडित परिवार र अन्य गाउँलेलाई टाकुरामा जम्मा गरेको छ । अन्तर्राष्ट्रिय रेडक्रस आईसीआरसीका डेलिगेसन प्रमुखसहित सबैको उपस्थितिमा जोगीमाराकै द्वन्द्वपीडित परिवारको कालिकोट भ्रमणको वृत्तचित्र देखाएपछि सबैका आँखा रसाए । आईसीआरसीले कोटवाडामा मारिएका १७ घर चेपाङ परिवारलाई २०६९ मंसिर १४ गते घटनास्थलमै लिएर धार्मिक परम्पराअनुसार सद्गत गर्न लगाएको वृत्तचित्र ‘अन्तिम यात्रा’ को आईसीआरसीकै आर्नो गालाँले निर्माण गरेका थिए । ३३ मिनेटको वृत्तचित्र राजधानीमा विश्व बेपत्ता दिवसका अवसरमा प्रदर्शन गरिएको थियो ।

अछाम सदरमुकाम मंगलसेन आक्रमण गरी फर्केका माओवादी जनसेनालाई लक्षित गरिएको सैनिक कारबाहीमा मृत्यु भएका ३७ मजदुरमध्ये १७ जना जोगीमारा ५, हेक्राङ र आसपासका गाउँले थिए भने अन्य मकवानपुर, काभ्रे, गोरखा र रामेछापका थिए । मृत्यु हुनेमा अधिकांश चेपाङ युवालाई गोरखाका पेटी ठेकेदारले निर्माण अलपत्र परेको कोटवाडा विमानस्थल निर्माणका लागि लगेका थिए । ‘विमानस्थल निर्माण क्रममा युवा मारिए पनि घरपरिवारजनले लास पाएनन् । मारिएसरह मृत्यु दर्ता प्रमाणपत्र लिई काजकिरिया गर्‍यौं,’ २ छोरा चेतबहादुर र टेकबहादुरलाई गुमाएका ज्ञानबहादुर विश्वकर्माले बताए ।

यो गाउँलाई चर्चामा ल्याउने श्रेय पत्रकार मोहन मैनालीलाई जान्छ । युवा कोटवाडामा मारिएपछि मैनालीले ‘जोगीमाराका ज्युँदाहरू’ नामक वृत्तचित्र प्रदर्शनमा ल्याएका थिए । जोगीमारा राजमार्गनिकट भएर पनि विकट भएपछि अहिले सरकार र गैरसरकारी संघसंस्था एक दर्जन त्यहाँ कार्यरत छन् । हातेमालो कार्यक्रम सञ्चालन गरेको रेडक्रसलगायत हेक्राङमा मात्रै ७ वटा संघसंस्था कार्यरत छन् । सरकारद्वारा सञ्चालित जनता आवास कार्यक्रम, जिल्ला शिक्षा कार्यालयद्वारा विद्यालय र जिल्ला कृषि विकास कार्यालयबाट विभिन्न तालिम, मौरी र बीउबिजन र पशु सेवा कार्यालयबाट पशुपालन तालिम नियमित प्रदान गरिएको छ ।

गैरसरकारी संघसंस्थाले जलवायु परिवर्तनदेखि आय आर्जन कार्यक्रमसम्म सञ्चालन गरेका छन् । बाख्रापालन, मौरीपालन, गह्रासुधार, कोदोबाली अनुसन्धान, भूक्षय न्यूनीकरण र तरकारी खेती गरेर स्थानीयवासीले मनग्गे आम्दानी गरिरहेका छन् ।