कभर फोटो

नारायणहिटी दरवार संग्रहालय देखाउने नाटकमात्र

By धादिङ न्यूज

December 18, 2014

किरण अधिकारी झण्डै २४० वर्षको राजतन्त्र अन्त भएपछि तत्कालीन राजाहरुको लागी बनाइएको नारायण हिटी राजदरवारलाई अहिले नेपाल सरकारले संग्राहलयमा परिणत गरेको छ । तर सर्वसाधारण जे आशा, भरोसा, इच्छा र जाँगर बोकेर संग्राहलय जान्छन् । त्यहाँबाट बाहिर निस्कदा निरास एवं आक्रोश लिएर निस्कन्छन् ।२०५८ साल जेष्ठ १९ गते “राजदरवार हत्या काण्ड ” भयो । त्यसको घटना स्थल, तत्कालीन दरवार जहाँ घटना भयो कसरी के कारण अनि कुन स्थानबाट शुरु भयो भन्ने कौतुहलता सबै सर्वसाधारणमा छ । त्यही अनुरुप म स्वयंमा पनि त्यो चाहना थियो । तर, जुन उत्साह र उमंग लिएर म संग्राहलय छिरेको थिएँ त्यो केही पनि भेटिएन । एउटा चाहना सबैमा हुन्छ । त्यहाँ अहिलेको भएपनि दृश्य कैद गर्ने तर त्यहाँ त्यो कार्य गर्न निषेश रहेछ ।

२०७१ साल मंसिर २५ गते विहिबार म काठमाण्डौँमा काम विशेषले गएको थिएँ । चर्चित लोक गायिका एवं कार्यक्रम संचालिका गिता रेउलेले मलाई फोन गरिन् अनि भनिन् आज दरवार संग्राहलय घुम्न जानको लाको तपाई पनि जाने भए आउँनुस भनिन् । तर समय कम हुँदा हुँदै पनि घुम्ने चाहना भएकोले म गएँ । तर, टिकट लिएपछि आफुसंग भएको सबै चिज काउन्टरमा बुझाई भित्र जानुपर्ने नियमले मलाई दुःखी बनायो । तैपनि भित्र गइयो । भित्र छिरेपछि दरवारको मुख्य भित्र छिरेपछि दरवारको मूख्य भवन छिरेर अवलोकन गन शुरु गरियो । मुख्य भवन भित्र विभिन्न १८ जिल्लाको नाममा विभिन्न कोठा, विभिन्न बैठक हल र अतिथि सदन रहेछ । त्यसैगरि तत्कालिन राजा रानीको शयन कक्ष, राजा ज्ञानेन्द्रले राजदरवार छोड्नु भन्दा अगाडी अन्तिम पटक पत्रकार सम्मेलन गरेको स्थान अवलोकन गर्दै बाहिर निस्कियौँ । म संगै धेरै सर्वसाधारण कोही पनि सन्ुतष्ट थिएनन् । सबैको एउटै आवाज थियो । अहिले संग्राहलय भित्र हेर्ने र हेरेका अधिकांश चिज त इतिहासमा पढेको र चित्र त देखेको हो । फोटो मात्र कितावमा पनि हेरेको हो । तर, महत्वपूर्ण कोठा, सबैले चाहना गरेका महत्वपुर्ण स्थान त बन्द गरिएको छ ।

किन त्यो स्थान बन्द गरियो, तत्कालीन युवराज, अधिराजकुमार, अधिराजकुमारीले प्रयोग गर्ने कोठाको नामोनिशान छैन । कतिपय महत्व बोकेको बस्तुहरु केही पनि छैन दरवार भित्र । दरवार भित्र सबै कोठा खुल्ला नगर्दा त्यहाँ अवलोकन गर्न पुगेका सर्वसाधारण रुष्ट देखिन्थे । अब, म दरवार भित्र रहेका महत्वपुर्ण र अवलोकन गर्दा देखिएका स्थान र बस्तुको संक्षेपमा उल्लेख पार्न चाहन्छु । १. दरवारको मुख्य भवन भित्र दरवार संग्राहलयको मुख्य भवनभित्र रहेका स्थानमा सबैभन्दा महत्वपूर्ण भनेको मेरो अनुभवमा स्व. राजा विरेन्द्रले २०४७ सालको संविधान जारी गरेको स्थान लाग्यो । त्यसैगरि अर्को स्थान भनेको राजा रानीको शयनकक्ष लाग्यो । त्यसैगरि दरवारभित्र विभिन्न राष्ट्राध्यक्षको लागी बनाइएको शयन कक्ष, भोजन कक्ष अनि उनीहरुसंग गर्ने विभिन्न कुटनैतिक छलफलको लागी बनाइएको कक्ष हो जस्तो लाग्यो । तर, दरवार संग्राहलय भित्र जुन चिज खुल्ला हुनुपथ्र्यो त्यो चाही बन्द छ । सबैको चासो र जिज्ञासा रहेको पक्ष भने बन्द थियो । त्यसैगरि दरवारभित्र रहेको भनिएका राजपरिवारले प्रयोग गर्ने भान्छा कोठा बन्द छ । दरवार भित्र रहेका विभिन्न बैठक हलहरु त टि.भी.को पर्दामा देखिएकै छ । भित्र छिर्न पनि नियम अत्यन्त कडा बनाइएको छ । दरवारभित्र धेरै स्थानमा फोटो बाहेक केही त देखिदैन । त्यस्तै संग्राहलय भित्र जुन चिज महत्वपूर्ण छ सबैको चासो छ त्यो भने हेर्न पाइदैन । त्यहाँ भित्र गोरखा, तनहुँ, बाग्लुङ, प्युठान, सल्यान जिल्ला लगायतको नाममा १८ वटा सदन, हल रहेछ । त्यसैगरी भित्र रहेका ९ वटा भन्दा बढी कोठा चाही किन अवलोकन गर्न दिइएन र दिँदैन त्यहाँ भित्र के नै छ र ? २. बन्द गरिएका कोठाको विषय मा कर्मचारी नै अनभिज्ञ दरवारभित्र रहेका जुन सर्वसाधारणले अवलोकन गर्छन, सबैले पढ्न जानेका हुँदैनन् । संग्राहलय भित्र रहेका कर्मचारीले यो यस्तो भनेर बुझाई दिँदा राम्रो हुन्छ तर त्यहाँ केही बोलिदैन । कर्मचारीले रुखो व्यवहार छ । किन बन्द गरिरहेको भन्ने प्रश्नमा उनीहरु नै अनभिज्ञ छन् । चित्त बुझ्दो जवाफ छैन । दिपेन्द्रले प्रयोग गरेको कोठा हेर्ने सबैको चाहना छ । तर त्यो चाहना पूरा हुन पाउँदैन । किन त्यो बन्द गरियो सबै सर्वसाधारण अनुत्तरित छन् । ३. दुई वर्ष अगाडी र हाल आकाश जमीनको फरक दरवार संग्राहलय घुमाउन राजधानीको धेरै विद्यालयका विद्यार्थीहरु पुग्छन् । संयोगबश त्यो दिन २ वर्ष अगाडी विद्यार्थी लिएर पुगेकी एक शिक्षिका भेटियो । उनी आक्रोशित थिइन् । उनी भन्दै थिइन् २ वर्ष अगाडी रहेका महत्वपूर्ण सामाग्री कहाँ पु¥याए होलान् । त्यस्ता ऐतिहासिक पुरातात्विक चिज कहाँ गयो होला । २ वर्ष अगाडी आउँदा र अहिले आउँदा अत्यन्तै फरक छ ।किन होला हाम्रो देश यस्तो किन यस्तो लापरवाही ? उनी प्रश्न गरिरहेकी थिइन् । तर उनको प्रश्नको जवाफ दिने कोही पनि थिएन । ४. भग्नावशेषमा घटनास्थल र अपुरो जानकारी सबैको तीव्र चाहना अनि नजर घटना स्थल पट्टी नै छ । तर, त्यो चाहना कसैको पूरा हुँदैन । किनकी राजदरवार हत्याकाण्ड भएको भनिएका त्रिभुवन सदन अहिले भग्नावशेष मात्र छ । किनकी घटना भएको स्थान भित्र केही देखिँदैन । जानकारी त दिएको छ तर त्यो अपुरो छ । खाली एउटा टिनको पातामा लेखिएको छ । घटना स्थलमा देखि दिएको जानकारीहेर्दा रानी ऐश्वर्य, अधिराजकुमार निराजन र अधिराजकुमार धिरेन्द्र ढलेको स्थान देखाईएको छ । त्यस्तै तत्कालिन युवराज दिपेन्द्रलाई सख्त घाइते भएर ढलेको अवस्थामा भेट्टयाइएको स्थान छ । जहाँ दिपेन्द्र ढलेको स्थानमा अगाडी पट्टी रानी ऐश्वर्य ढलेको स्थान रहेछ । दिपेन्द्र ढलेको स्थानमा पोखरी रहेको छ । त्यो पोखरी अत्यन्त फोहोर छ । सरसफाईमा ध्यान दिएको छैन । किन होला यस्तो । साह्रै लापरवाही गरेको होला । घटनास्थल तर्फ लाग्दा ढक्क आङ्ग फुल्यो मेरो । जानकारी पुरै लिन पाइएन । घटनाको शुरुवात भएको यहाँबाट र यो स्थानमा यस्तो भएको भन्ने यथार्थ जानकारी दिएको भए राम्रो हुन्थ्यो । तर, छैन । भग्नावशेष मात्र देखियो । प्रमाण नष्ट गर्नलाई यस्तो गरेको भन्थे सर्वसाधारण । सबै अवलोकनकर्ता टक्क अडिन्थे । जहाँ दिपेन्द्र ढलेको स्थानमा पुगेपछि । एक जनाले त प्रष्ट भनिरहेका थिए । दिपेन्द्र तिमी निर्दोष हुँदा पनि तिमीलाई नै हत्यारा बनाए है । तर, हजुरको आत्माले शान्ति पाओस् । मैले देखेको र अवलोकन गरेको आधारमा केही टिप्पणी गरेको हुँ । अत्यन्तै राम्रो संग लेख्ने प्रयास गरेको छु । तर, सम्बन्धित निकायले बेलैमा ध्यान नदिने हो भने अब केही वर्ष पछाडी सामानको नामोनिशाना फेला पर्न गा¥ह्रो छ । प्रवेश शुल्क पनि धेरै नै महँगो छ । संग्राहलय भित्र किन यस्तो लापरवाही ? कसले दिन्छ यसको उत्तर । दरवार संग्राहलय जुगौँ जुगसम्म रहन पर्छ । त्यसैगरि बसन्तपुरमा रहेको जस्तो महत्वुपर्ण सामाग्री र चिज नारायणहिटी संग्राहलयमा पनि हुनुपर्छ । किन सामान दिनप्रतिदिन हराईरहेको छ । सुरक्षा कमजोर कि लापरवाही देखाईएको सामान सुरक्षा गर्नु सरकार र राज्यको दायित्व हो । यसतर्फ सचेत बनौँ ।

(अधिकारी नुवाकोटवाट प्रकाशित हुने सुन्दरादेवी सन्देश साप्ताहिकका प्रकाशक हुनुहुन्छ ।)