मुख्य समाचार

सावधान ! फ्रुटी नखानुस् : भेटियो अल्कोहल

By धादिङ न्यूज

December 20, 2014

मोरङको बेलबारी ३ स्थित एक होटलमा फ्रुटी खाँदा एक बालक बिरामी परेका छन् रातो पाटी डट कम अनलाईनले खबर लेखेको छ । स्थानीय पाँचथरे माईलाको होटलमा म्याङ्गो फ्रुटी किनेर खाँदा चन्द्र भण्डारीका छोरा १८ महिनाका संगम भण्डारी बिरामी परेका हुन् ।बालकले फ्रुटी निल्न नमानेपछि उनका बाबु चन्द्रले फ्रुटी चाख्दा अल्कोहल भएको स्वाद थाहा पाएपछि त्रसित भएका थिए । फ्रुटीमा अल्कोहल भेटिएपछि उनिहरुले बेलबारी ब्यापार प्रबन्ध समितिलाई खबर गरेका थिए ।ब्यापार प्रबन्ध समितिका प्रतिनिधि आएर बुझ्दा अल्कोहल मिसावट भएको भेटेपछि क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरलाई बोलाएका थिए । खाद्य तथा गुण नियन्त्रण कार्यालयका खाद्य निरीक्षक भरत बहादुर पुरी र बाणिज्य कार्यालयका नयराज नेपाल र कुमार दहालको टोलीले मिसावट भएको भनिएको फ्रुटीको नमुना सङ्कलन गरी परीक्षणकालागि बिराटनगर लगेका छन् । दुगड फुड एण्ड विभरेज प्रा.लि सतुङ्गल, काठमाण्डौंले उत्पादन गरेको म्याङ्गो फ्रुटीमा अल्कोहलको मिसावट पाईएको हो ।प्रहरी प्रसाशनले कारबाही गर्न नमिल्ने बिषय भएकाले खाद्य तथा गुण नियन्त्रण कार्यालयले यसको टुङ्गो लगाउने ईलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक दुर्गा दहालले बताए । फ्रुटी खाएर बिरामी पर्ने बालक संगम स्थानीय क्लिनिकमा उपचारपछि घर फर्केका छन् । नियमनकारी निकाय खाद्य तथा गुण नियन्त्रण कार्यालय र बाणिज्य कार्यालयका प्रतिनिधिले प्रयोगशाला परीक्षण गर्दा फ्रुटीमा अखाद्य पदार्थ मिसावट भएको प्रमाणित भए एक हजारदेखि दुई हजार रुपैयाँसम्म जरिवाना हुने बताए । खाद्य पदार्थमा मिसावट गर्ने जस्तो गम्भीर अपराध गर्नेलाई कानुनमा अति कम सजायको ब्यवस्था गरिएको भन्दै उपभोक्ताले आक्रोश ब्यक्त गरेका छन् । फ्रुटीमा मिसावट भएको नमुनाको प्रयोगशाला परीक्षणको नतिजा दुई दिन भित्र आउने खाद्य निरीक्षक भरत बहादुर पुरीले बताए । 

यसैबिच अखाद्य पदार्थ मिसावट गर्ने उत्पादक कम्पनीलाई कडा कारबाही गरिनुपर्ने ब्यापार प्रबन्ध समिति बेलबारीका महासचिव राजेशजंग कार्कीले बताए ।