कभर फोटो

झारफुकको भर पर्दा दुवै आँखा बन्द

By Dhading News

December 29, 2014

धादिङ, १४ पौष – सेती चेपाङको ७० वर्षकी भइन् । उनको दुवै आँखा बन्द भएको ११ वर्ष भइसक्यो । दाहिने आँखा १४ वर्षअघि नै बन्द भएको थियो । दुवै आँखा बन्द भएपछि सेतीको जीवन निकै कष्टकर बनेको छ । अरुले जहाँ राखिदिन्छन त्यहीँ बस्नु र जे दिन्छन् त्यही खानु सेतीको दैनिकी बनेको छ ।

             

सीमान्तकृत समुदायमा सूचीकृत चेपाङ समुदाय शैक्षिक, आर्थिक तथा अन्य सामाजिक गतिविधिमा पनि निकै पिछ्डिएका छन् । आँखामा देखिएको समस्या समयमै अस्पताल पुगेर उपचार गराउनुको साटो सेतीको परिवार धामीझाँक्रीको भर पर्दा अहिले यो अवस्था आएको हो । सेतीका श्रीमान् नरबहादुर पनि ७० वर्ष कटिसकेका छन् । स्वास्थ्यका कारण आफै कमजोर रहेका नरबहादुरको दैनिकी दुवै आँखा नदेख्ने श्रीमतीको स्याहार सुसार गरेरै बित्छ । ‘उमेरमा हामी दुवै मिलेर काम गरेर खान्थ्यौँ, लगान लागेर उसका दुवै आँखा बन्द भएपछि मैले स्याहार गर्दै आइरहेको छु’, छेउमै खुल्ला चौरमा बसिरहेकी श्रीमतीलाई देखाउँदै नरबहादुरले भने । खनी खोस्री खाने जग्गाजमिन नाममात्रको भएकोले अरुको ज्याला मजदूरी नगरी यो परिवारको जीवन गुजारा चल्दैन । छोराबुहारीले आफ्नै सुर गरेर बसेपछि नरबहादुरको काँधमा आँखा नदेख्ने श्रीमतीको स्याहार सुसार र साँझ बिहानको गाँसको जोहो गर्नुपर्ने दोहोरो जिम्मेवारी थपिएको छ । आँखामा समस्या देखिनेबित्तिकै स्वास्थ्य संस्थामा गएर उपचारको प्रयास गरेको भए यस्तो हुँदैन थियो कि रु भन्ने प्रश्नमा सेती र नरबहादुर दुवैका एउटै जवाफ थियो– ‘लगान लागेर यस्तो भएको हो, अस्पतालको औषधिले निको हुँदैन । गाउँका राम्रा धामीझाँक्रीलाई देखाएको हो । उनीहरुले पनि लगान फाल्न सकेनन् र यस्तो हुन पुग्यो ।’ चेपाङ समुदायमा अहिले पनि झारफुकमा विश्वास गर्ने ठूलो समुदाय छ । जसका कारण वर्सेनि अनेक किसिमका समस्या भोग्नु परे पनि अस्पतालको उपचारभन्दा धामीझाँक्रीको झारफुक पहिलो प्राथमिकतामा पर्ने गरेको स्थानीय शिक्षक गोविन्द भण्डारीले बताए । सेतीको परिवारले पनि सुरुसुरुमा धामीले झारफुक गर्दा निको होला भनेर हेलचक्र्याइँ गरे, धेरै ढीला भएपछिमात्रै अस्पताल पुगेका उनीहरुलाई आँखा विशेषज्ञहरुले दुवै आँखामा मोतियाबिन्दु भएकोले उपचार सम्भव नभएको बताएपछि उपचार सम्भव हुन नसकेको भण्डारीले जानकारी दिए । दक्षिणी धादिङको पिडा–५ श्यामीडाँडामा १२० घर चेपाङ समुदायको बसोबास रहेको छ । अधिकांश चेपाङलाई वर्षभरि खान नै समस्या छ । श्यामीडाँडामा सेती चेपाङमात्रै होइन, ८२ वर्षीया हरिमाया चेपाङको पनि हालत उस्तै छ । हरिमायाको पनि दुवै आँखा बन्द भएको सात वर्ष बितिसकेको छ । हरिमायाले पनि देवी देउताको कारण आफूलाई यस्तो भएको बताइन् । झाँक्रीलाई देखाउँदा लगान लागेको भनेपछि पटकपटक पूजा गरियो तर लगानले छाडेन, आँखा नै बन्द गराइदियो । भगवानले जे गर्छन्, त्यो भोग्नुपर्छ हरिमायाको प्रतिक्रिया थियो । दुवै जनाले उपचारका लागि गाउँभन्दा बाहिरको अस्पताल र स्वास्थ्य संस्था नदेखे पनि पिडा गाविसकै घाटबेसीमा सञ्चालित आँखा स्वास्थ्य शिविरमा देखाउँदा दुवै आँखामा मोतियाबिन्दु भएकोले उपचार सम्भव नभएको जवाफ पाएपछि अन्त कतै नगएको उनीहरु बताउँछन् । चेपाङ समुदायमा विद्यमान अन्धविश्वासको प्रथालाई आधार मानेर केही धार्मिक संस्थाले गाउँ पसेर चेपाङको धर्म परिवर्तन गराउने गरेका छन् । परम्परागत धर्म संस्कृति मान्नेहरु अहिले पनि बिरामी हुँदा पहिले धामीझाँक्री कहाँ नै पुग्ने गरेको नेपाल चेपाङ संघका केन्द्रीय अध्यक्ष जितेन्द्र चेपाङ बताउँछन् ।