मुख्य समाचार

गोरु जुधाउने पर्व स्वदेशी तथा विदेशी पर्यटकको आकर्षक गन्तव्य

By Dhading News

January 14, 2015

काठमाडौँ, – हरेक वर्ष नुवाकोटको तारुका तथा रसुवा र नुवाकोटको सिमाना स्थल वेत्रावतीमा गोरु जुधाएर परापूर्वकालदेखि मनाइने पर्व स्वदेशी तथा विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ ।

माघेसङ्क्रान्ति पर्वका अवसरमा गोरु जुधाएर गरिने प्रतियोगिताको प्रत्यक्ष रूपमा दृश्यावलोकन गरी आनन्दित हुन स्वदेशी मात्र नभई विदेशी पर्यटक उल्लेख्य मात्रमा जाने गरेका छन् । पछिल्लो समय उक्त पर्वलाई अन्तर्राष्ट्रिय पर्यटन आकर्षणका रूपमा विकास गर्न पर्यटन व्यवसायी तथा स्थानीय अगुवा सक्रिय भएका छन् ।

बझाङ्गी राज जयपृथ्वी बहादुर सिंहको मावलीगाउँ नुवाकोटको तारुका जाँदा भान्जालाई मनोरञ्जन दिनका लागि गोरुका बाच्छा जुधाइएको संस्कारको निरन्तरता स्वरूप यो पर्वले अहिले विदशीको आकर्षण बढेको पाइन्छ ।

अघिल्लो वर्ष १५ हजारभन्दा बढीले तारुकाको गोरु जुधाइको प्रत्यक्ष अवलोकन गरेका थिए भने यस वर्ष उक्त सङ्ख्या झन्डै दोब्बर वृद्धि हुने मेला व्यवस्थापनको जिम्मेवारी लिएको रसुवा नुवाकोट पर्यटन समाजले जनाएको छ । –ः ३५ः– यस्तै वेत्रावतीमा पनि दर्शालुको सङ्ख्या बढ्दै गएको छ । विगतमा तारुकाका विभिन्न स्थानमा आयोजना हुने गोर जुधाइ दर्शकको सहजताका लागि विगत छ वर्षदेखि एकै स्थान तारुक–५ चन्दनीमा हुने गरेको छ ।

गोरु जुधाइमा स्थानीय दर्जनौँ गोरूपालक किसानले आफ्नो गोरु जुधाउने पर्वलाई जोगाउन महत्वपूर्ण भूमिका रहेको छ । चामल, अण्डा, मास, मकैजस्ता पोसिलो खानेकुरा खुवाएर पालिएका बहरको भिडन्त आफैँमा रोमाञ्चकारी हुने गरेको छ ।

गत वर्ष १९ हल गोरु तारुकामा जुधाइएकामा यसपालि १८ र वेत्रावतीमा आठ हल गोरु जुधाउनका लागि दर्ता गरिसकेको समाजका महासचिव एवम् पर्यटन पत्रकार मञ्चका अध्यक्ष शिव अधिकारीले बताउनुभयो ।

पर्वका बारेमा जानकारी दिन आज यहाँ आयोजित पत्रकारसम्मेलनमा उहाँले भन्नुभयो–“यो पर्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा प्रवद्र्धन गरी पर्यटक भित्र्याउन सरोकारवाला निकायसँग ताकेता गरिरहेका छौँ, हाम्रो मुख्य उद्देश्य यो पर्वलाई संरक्षण गरी स्वदेशी तथा विदशीमाझ नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नु हो ।”

परम्परागत संस्कृतिको संरक्षण प्रवद्र्धन र पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न गाउँ पर्यटन प्रवद्र्धन सरोकारवाला निकायको ध्यान पुग्न जरुरी भएको गाउँ पर्यटन व्यवसायी शिव लामिछानेले बताउनुभयो । प्रतियोगितामा सहभागी हुने गोरुको रु २० हजारको बीमा गरिएको छ । प्रतियोगितामा जित्ने गोरुले रु एक हजार ५०० र हार्नेले १० हजार पुरस्कार पाउनेछ भने गोरु दर्ता गर्न रु ५०० तोकिएको आयोजकले जनाएको छ ।र