कभर फोटो

खाल्टेको फ्याक्सेमा गोरु जुधाउने मेला सम्पन्न

By धादिङ न्यूज

January 15, 2015

नयन केसी खाल्टे–आन्तरिक  पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले धादिङको खाल्टे गाविसको फ्याक्सेमा पहिलो पटक गोरु जुधाउने मेला सम्पन्न भएको छ । माघे संक्रान्तिको अवसर पारेर गाउंघरमा हुने गरेको गोरु जुधाउने कार्यलाई व्यवस्थित वनाई आन्तरिक पर्यटकको आकर्षण बढाउन र खाल्टे गाविसको पर्यटकीय महत्वका बिषयमा प्रचार प्रसार गर्न पहिलो पटक व्यवस्थित रुपमा फ्याक्सेमा गोरु जुधाउने मेला लागेको हो ।

चमेरे गुफा संरक्षण समाज खाल्टेको आयोजनामा भएको मेलामा १० हल गोरु भिडेका थिए । प्रतियोगितामा खाल्टे २ का रामवहादुर श्रेष्ठको गोरुले यस पटकको प्रतियोगिताको उपाधी जितेको छ । श्रेष्ठको गोरुले नविन अवस्थिको गोरुलाई हराएको थियो । चमेरे गुफा संरक्षण समाजका अध्यक्ष एवम गोरु जुधाई मेला आयोजक समितिका संयोजक सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी खाल्टे गाविसका सचिव विरवहादुर दुवाडी रहनु भएको थियो । कार्यक्रममा स्थानीय १० जना जेष्ठ नागरिकलाई सम्मान समेत गरिएको थियो ।पहिलो पटक आयोजना गरिएको भएपनि मेला हेर्नेदर्शकको वाक्लोउपस्थिती रहेको थियो । खाल्टे गाविस भित्र रहेका पर्यटकीय क्षेत्रहरुको पहिचानका लागि आगामी दिनहरुमा पनि पर्यटन प्रवद्र्धनका कार्यक्रमहरु संचालन गरिने आयोजक संस्थाले जनाएको छ ।

यसै गरी धादिङको  दार्खा ,मैदी, ढोला, खरी  लगायत विभिन्न स्थानमा गोरु जुधाई  सम्पन्न भएको छ । मैदी गाविसको कोटमा भएको गोरु जुधाई प्रतियोगितामा राम श्रेष्ठको गोरु पहिलो भएको छ । प्रतियोगितामा सुजन श्रेष्ठको गोरु दोश्रो र एक नारायण श्रेष्ठको गोरु तेश्रो भएका छन् ।स्थानीय खड्कदेवी समाजको आयोजनामा भएको प्रतियोगितामा विजयी हुने गोरुका धनीहरुलाई क्रमश २ हजार, १५ सय र एक हजार नगद पुरस्कार दिइएको छ ।