मुख्य समाचार

मध्यरातमा एमाओवादीद्वारा संविधानसभामा तोडफोड

By धादिङ न्यूज

January 20, 2015

६ माघ, काठमाडौं । एकीकृत नेकपा माओवादीका सभासदले मंगलबार मध्यरातमा संविधानसभाभित्र तोडफोड र हुलहुज्जत गरेका छन् । विपक्षी मोर्चाको तोडफोडका कारण संविधानसभाका कुर्सी र माइकहरु भाँचिएर छरपस्ट भएका छन् भने तीन जना मर्यादापालक घाइते भएका छन् अनलाईन खबर डट कमले समाचार लेखेको छ ।

राति साढे १ बजे संविधानसभामा डा. बाबुराम भट्टराईले बोलिसकेपछि सभाध्यक्ष सुवास नेम्वाङले प्रश्नावली समिति बनाउन लाग्दा एमाओवादी नेतृत्वमा विपक्षी सभासद रोष्टमतर्फ अघि बढेका थिए ।

विपक्षीको हुलहुज्जतपछि सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधानसभा बैठक मंगलबार एक बजेसम्मका लागि स्थगित भएको घोषणा गरेका थिए ।

सभाध्यक्षले प्रश्नावली समिति बनाउने घोषणा गर्नासाथ एमाओवादी सभासदहरु दौडेर रोष्टमतर्फ अघि बढेका थिए । तत्कालै मर्यादा पालकले हाते चेन बनाएर विपक्षीलाई रोष्टममा चढ्न नदिने प्रयास गरेका थिए ।

मर्यादा पालकलाई घुर्चिँदै सभासद जनार्दन शर्मा र अमनलाल मोदी लगायतका सभासदहरु पटक-पटक रोष्टमतर्फ अघि बढ्न खोजेका थिए । यसक्रममा केही सभासद र मर्यादापालकवीच घुर्चाघुर्ची भएको थियो ।

केहीबेरको तनावपछि सभासध्यक्षले प्रक्रिया अघि बढाउनुको साटो मंगलबार १ बजेसम्मका लागि बैठक स्थगनको घोषणा गरेका थिए ।

सभाध्यक्षले बैठक स्थगनको घोषणा गरेपछि सत्तापक्षका सभासदहरु बाहिर निस्कन थाले भने एमाओवादी सभासदहरु आफैं बसेको कुर्सीमाथि चढेर तोडफोडमा उत्रिए ।

सभाध्यक्षले बैठक स्थगित गरिसक्दा पनि एमाओवादी सभासदहरुले अराजक ढंगले संविधानसभाभित्र तोडफोड गरिरहेको दृश्य निकैबेरसम्म देखिएको थियो ।

बैठक स्थगित भइसकेपछि संविधानसभाभित्र गरिएको तोडफोड पार्टीनीति विपरीत थियो भन्ने एमाओवादी सचेतक गिरिराजमणि पोखेरलको गतिविधिले देखाएको थियो ।

एमाओवादी सचेतक पोखरेलले आफना दलका सभासदलाई तोडफोड नगर्न हातले बारम्बार इशारा गरिरहेका थिए, तर सचेतकको आग्रहलाई कुनै बेवास्ता नगरी सभासदहरुले कुुर्सीमाथि चढ्दै उपद्रो मच्चाउँदै निकैबेर तोडफोड गरेका थिए । दुई पक्षीय झडप र हानाहान नभएको र बैठक स्थगित भइसकेको अवस्थामा एमाओवादी सभासदहरु एकतर्फी रुपमा तोडफोडमा उत्रिएका थिए ।

आफ्ना सभासदले तोडफोड गरिरहँदा पूर्वप्रधानमन्त्रीद्वय प्रचण्ड र बाबुराम संविधानसभाभित्रै थिए ।