बिकास /परिवर्तन

६८ जिल्लाले पठाएनन् म्याद सकिन लागेका औषधिको विवरण

By धादिङ न्यूज

January 23, 2015

कमिसनको पोल खुल्ने डरले विवरण नपठाइएको दाबी

काठमाडौं– निःशुल्क बाँड्न भनेर स्वास्थ्य संस्थामा पठाइएका म्याद सकिन लागेका औषधिको विवरण संकलन गर्न सरकारले निर्देशन दिएको ६ महिना बित्दा पनि स्वास्थ्य मन्त्रालयले विवरण संकलन गर्न सकेको छैन स्वास्थ्य खबरले लेखेको छ ।

गत वैशाख ७ र ८ गते भएको नेपाल सरकारका सचिवस्तरीय बैठकमा मुख्य सचिव लिलामणि पौडेलले म्याद सकिन लागेका औषधिको विवरण संकलन गर्न निर्देशन दिएका थिए । विवरण संकलनका लागि जेठमा स्वास्थ्य मन्त्रालयका चिकित्सा महाशाखा प्रमुख डा. गुणराज लोहनीको अध्यक्षतामा एक कार्यदल गठन गरिएको थियो । कार्यदलमा औषधि व्यवस्था विभागका महानिर्देशक र राष्ट्रिय सतर्कता केन्द्रका प्रतिनिधि सदस्य रहेका छन् । कार्यदललाई साउनमा नै विवरण बुझाउन भनिएपनि ६ महिना बितिसक्दा पनि कार्यदलको बैठकसमेत बसेको छैन ।

स्वास्थ्यले वितरण गर्ने निःशुल्क औषधि स्वास्थ्य चौकी तथा उपस्वास्थ्य चौकीमा नपुग्ने र पुगे पनि म्याद गुज्रिएको मात्र पुग्ने भन्दै त्यसको विवरण संकलन गर्न सरकारले स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको थियो ।

कार्यदलका अध्यक्ष डा. लोहनीले म्याद सकिन बाँकी रहेका औषधिको तथ्यांक छिटो पठाउँन सबै जिल्लालाई पत्राचार गरेपनि सातवटा जिल्ला जनस्वास्थ्य कार्यालय र आपूर्ति महाशाखाले मात्र विवरण पठाएको जानकारी दिए । तर, पाँचवटै ६८ वटा जिल्ला जनस्वास्थ्य र पाँचवटै क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालयले पनि अहिलेसम्म विवरण पठाएका छैनन् । आफूहरुले पटक–पटक ताकेता गर्दा पनि जिल्ला र क्षेत्रले विवरण नपठाएको उनले बताए ।

राष्ट्रिय सतर्कता केन्द्र स्रोतले भने जिल्ला तथा क्षेत्रले औषधि किनेको अभिलेख कागजमा मात्र हुने र मौज्दात नहुने भएकाले विवरण नपठाइएको दाबी गरेको छ । ‘केन्द्रले समेत औषधि किनेर स्थानीय तहमा पठाउने गरेको छ, तर, अभिलेख कतै राखिएको छैन ।’ सतर्कता केन्द्र स्रोत भन्छ, ‘केन्द्रले औषधि पठाइएको त भन्छ, तर, त्यसको विवरण विभाग र जिल्लाबाट किन मगाउन सक्दैन ?’ आर्थिक अनियमिततासंग जोडिएका कारण औषधिको विवरण माग नगर्ने र नपठाइने गरिएको स्रोतको दाबी छ । म्याद सकिन लागेका औषधिको विवरण संकलन गर्न चाँडै नै जिल्लाहरुमा अनुगमन गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।