राष्ट्रिय समाचार

संविधान दिन नसकेकाेमा मर्माहत र दु:खी छु : प्रधानमन्त्री

By Dhading News

January 23, 2015

काठमाडौं माघ ९- प्रधानमन्त्री सुशील कोइरालाले समयमा संविधान नबनेकोमा आफू मर्माहत र दु:खी भएको बताएका छन् । आज साँझ देशबासीका नाममा सम्बोधन गर्दै उनले एक वर्षमा संविधान जारी गर्ने प्रतिबद्धता गरेपनि केही दलको स्वार्थका कारण त्यो पूरा हुन नसकेको बताए सेतोपाटी अनलाईनले लेखेको छ ।

 उनले एमाओवादी तर्फ संकेत गर्दै केही दल संविधानसभामा तोडफोड र अराजक गतिविधिम उत्रिएको आरोप लगाए । संविधानसभाबाट संविधान जारी गर्नुपर्नेमा केही दल मोर्चा बन्दीमा लागेर सडक आन्दोलनमा उत्रनु अस्वभाविक भएको उनले बताए ।

बन्द हडतालले संविधान निमार्णमा गम्भीर धक्का लागेको उनले बताए । एकता र मेलमिलापको भावनाबाट सहमतिमा संविधान जारी गर्नुपर्नेमा उनले जोड दिए । मुलुककाे भविष्य दलहरुकाे एकतामा निर्भर रहने उनले बताएका छन्।

प्रधानमन्त्री  सुशील कोइरालाले २०७१ माघ ९ गते राष्ट्रका नाममा गरेकाे सम्बाेधनकाे पूर्ण पाठ आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू १) वर्तमान संविधानसभाको निर्वाचनका समयमा र निर्वाचन पछि सबै  राजनीतिक दलहरुले एक बर्षभित्र नै संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान ल्याउने प्रतिवद्धता व्यक्त गरेका थियौ । संविधानसभाले पनि दलहरुको भावनालाई आत्मसात गर्दै “साझा संकल्प”का रुपमा २०७१ माघ ८ भित्रै संविधान निर्माणको कार्यतालिका पारित गरेको स्मरण गराउन चाहन्छु । यो प्रतिबद्धता अनुरुप हिजो माघ ८ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान जारी भइसक्नु पर्ने थियो ।

२) संविधान निर्माणको कार्य नेपाल राष्ट्र, संविधानसभामा प्रतिनिधित्व गर्ने सभासद् र राजनीतिक दलहरुको जिम्मेवारीसंग प्रत्यक्ष सम्बन्ध रहेको बिषय हो । तर पनि संविधान निर्माण जस्तो देश र जनताको भविष्यसंग गाँसिएको विषयलाई भरसक सहमतिमै सम्पन्न गर्नका लागि प्रधानमन्त्रीका रुपमा सबै दलहरुलाई नम्रतापूर्वक अनुरोध गर्दै आएको थिए । तर दुःखका साथ मैले भन्न्ु पर्दछ की सवै राजनीतिक दलहरुले माघ ८ गतेभित्र संविधान जारी गर्न लिएको “साझा संकल्प” केही राजनीतिक दलहरुका अस्वाभाविक अडान र लोकतान्त्रिक विधिको वेवास्ता गर्ने प्रवृत्तिका कारण संकटमा पर्न गएको छ ।

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू १ ३) हामी सबैले लक्ष्य बनाएको माघ ८ गतेको दिनसम्म आईपुग्दा हाम्रो संविधानसभा शान्तिपूर्ण छलफल र लोकतान्त्रिक विधि र व्यवहारका अभ्यास गर्ने ठाउँ बन्न पाएन । दुर्भाग्यवश माघ ५ गतेको मध्य रात्रीदेखि संविधानसभा उत्तेजनात्मक गतिविधि,तोडफोड र अराजक व्यबहारको प्रदर्शनी बन्न पुग्यो । संविधानसभाभित्रकै केही राजनीतिक दलहरु मतभेदका विषयहरुमा अनेकन वैकल्पिक प्रस्ताव उपर छलफलमा केन्द्रित हुनुको साटो संविधानसभाबाट संविधान बन्न सक्दैन भन्ने राजनीतिक निष्कर्ष र मोर्चामा आबद्ध दलहरुसंग मिसिएर बन्द र हडतालको विकल्पतर्फ जादा संविधान निर्माणका प्रयासमा गम्भीर धक्का लाग्न पुग्यो ।जनताका आशा र विश्वासमाथि लागेको यो चोटले मलाई मर्माहत तुल्याएको छ ।

४) हामीले आपसी सहकार्य, समझदारी, एकता र मेलमिलापका आधारमा हुने सहमतिको प्रयासलाई अझै छाडेका छैनौ । संविधान निर्माणको विभिन्न चरणमा शान्तिपूर्ण जनआन्दोलनका सहयात्रीहरुबीचको सहकार्यको भावना नटुटोस् भन्ने हाम्रो सदासयता र प्रयत्न रही आएको छ । “मिलेर हासिल गरेका उपलब्धिलाई मिलेर नै संस्थागत गरौं” भन्ने  हाम्रो भावनालाई कतिपय सहयात्री दलका नेताहरुले कमजोरीको रुपमा उपयोग गर्न खोज्नु भएको छ । जसका कारण संविधान निर्माणको कार्य अनिर्णय र अन्यौलको बन्दी हुन पुगेको छ । अब यस परिस्थितिको अन्त्य हुनु पर्दछ ।

५) मलाई विश्वास छ ,जनताको मौलिक अधिकार,न्याय र स्वतन्त्रताको जग बलियो हुँदा मात्रै मुलुकको दिगो शान्ति र स्थिरता कायम हुन सक्दछ । नेपाल सदा बहुजातीय,बहुभाषिक,बहुसांस्कृतिक र बहुधार्मिक मुलुक हो । यसको सामाजिक सद्भावमाथि कसैले पनि खेलबाड् गर्नु हुँदैन । आपसी सद्भाव, बन्धुत्वको भावना, सहिष्णुता र मेलमिलाप र सामञ्जस्यता कायम गरी राष्ट्र निर्माणमा समावेश हुनु पर्ने आजको आवश्यकता हो । त्यसैले मुलुकले आर्थिक रुपमा धान्न सक्ने,राष्ट्रिय एकतालाई मजबूत बनाउने, सामाजिक सद्भाव र सहिष्णुता कायम हुने लोकतान्त्रिक संविधान र संघीय प्रदेशहरुको निर्माण गर्नुपर्दछ भन्ने हाम्रो दृढ अडान पुनः दोहो¥याउन चाहन्छु । ६) आउने संविधानमा समस्त महिला, दलित, आदिवासी, जनजाति, थारु, मुस्लिम, अन्य अल्पसंख्यक,सीमान्तकृत र पिछडिएको वर्ग सहित सबै नेपालीलार्ई आफ्नो पहिचान, धर्म, संस्कृति, भेषभूषा, भाषा, परम्पराको संरक्षण र संबर्धन गर्ने स्वतन्त्रताको प्रत्याभूति हुनेछ । नयाँ संविधानको निर्माणमा आमजनताको सहभागिता सुनिश्चित गरिएको छ ।

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू १ ७) लोकतान्त्रिक आधारशीलामा मात्र देशको राष्ट्रियता र राष्ट्रिय एकता संबद्र्धन गर्न सकिन्छ ।लोकतान्त्रिक संस्थाहरुलाई  सशक्त र मजबूत पार्दै सांस्कृतिक जगलाई सुदृढ बनाएर  देशको प्राकृतिक र मानव संशाधनको अधिकतम उपयोग गरी मुलुकको चौतर्फी विकास गर्नुपर्ने बेलामा द्वेष, हिंसा र उत्तेजनालाई बढावा दिन उत्प्रेरित गर्ने कार्य हुनुलाई मैले दुर्भाग्यको रुपमा लिएको छु ।

८) नेपाली जनताले प्रजातन्त्रको लागि लामो संघर्ष गरिसकेका छन । ६२÷६३ को शान्तिपूर्ण जनआन्दोलनलाई हामीले राजनीतिक परिवर्तनका लागि अन्तिम आन्दोलन भनेका थियौ । राजनीतिक परिवर्तन पश्चात् मुलुकमा स्थायित्व र विकास होला, सुख र शान्ति पाइएला भन्ने जनताको आशालाई यथार्थमा रुपान्तरण गर्न हामीले लोकतान्त्रिक संविधान निर्माण गर्नै पर्ने अवस्था छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान बन्दैछ र राजनीतिक स्थिरता सुदृढ हुँदैछ भन्ने विश्वासमा देशभित्र र देशबाहिरका लगानीकर्ताहरुबाट ऊर्जा,पर्यटन,कृषि,उद्योग धन्दा,कलकारखाना र अन्य पूर्वाधार एवं उत्पादनका क्षेत्रमा व्यापक लगानी शुरु भइसकेको छ । चाडै नै ऊर्जा क्षेत्रको संकट समाधान हुने संभावनाका बीच आर्थिक विकासका गतिविधि तीब्र हुँदैगएका छन् । पूर्वाधारका क्षेत्रमा सरकारको लगानी समेत परिणाममुखी बन्दैछ । विकास चिठ्ठा परेर हुने होइन, बर्षौको निरन्तर लगानी र उत्पादनले मात्र आर्थिक समुन्नतिको खुट्किलो चढ्न सकिन्छ । अनुकूल परिस्थिति बन्दै गएको बेला समाजमा द्वन्द्व र जनतामा निराशा आउने अवस्था कुनै पनि हालतमा बन्न दिनु हुँदैन ।

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु  ९) आपसी मनमुटाव बढाएर जनता र देशको हित हुदैन । यसले केवल विभाजन र विद्वेष पैदा गराउछ  । जनता निराश हुने स्थिति आउन दिनुहुँदैन । जनता हतोत्साहित भए राष्ट्र र राष्ट्रियता कमजोर हुन्छ । यस कुरालाई ध्यानमा राख्दै मुलुकमा शान्ति,सुव्यवस्था,सुशासन,पारदर्शिता,भ्रष्ट्राचार नियन्त्रण र उन्नतिका लागि योगदान गरिरहने सबैलाई म धन्यवाद दिन चाहन्छु ।

१०) तसर्थ मेरो सबै राजनीतिक दलहरुसंग विनम्र अनुरोध छ, राष्ट्रिय एकता र मेलमिलापको उदात्त भावनाले लोकतान्त्रिक संघीय गणतन्त्रात्मक संविधान निर्माण गरांै । सुन्दर शान्त नेपालमा द्रुत विकासको थालनी गरांै । जनता राष्ट्र निर्माण र विकास अभियानका महत्वपूर्ण ऊर्जा हुन् । अवसरका कमीले रोजगारीको खोजीमा  विदेशिन बाध्य भएका  हाम्रा गतिशील र क्षमतावान लाखौ युवाहरुको अवस्थालाई समेत ध्यानमा राखी जनताको जीवनस्तर माथि उठाउने आमूल परिवर्तनको महाभियानको संवाहक बनौ ।

११) नेपाल सबैसंग मित्रता र सद्भाव राख्दछ । हाम्रा छिमेकी एवं सबै मित्र राष्ट्रहरुले नेपाल र नेपाली जनताको लोकतान्त्रिक प्रतिबद्धताप्रति देखाएको सद्भाव र समर्थनको सराहना गर्दछौ । सबै मित्र राष्ट्रहरुसंग समानताका आधारमा सहयोगात्मक सुसम्बन्ध कायम गरी लोकतान्त्रिक जगमा सामाजिक–आर्थिक रुपान्तरणको प्रक्रियालाई अगाडी बढाउने हाम्रो अभियानमा निरन्तर सद्भाव र समर्थनको अपेक्षा गरेका छौ । नेपालको राष्ट्रिय एकता, दिगो शान्ति र सहमतिको राजनीति हाम्रो आफ्नो लोकतान्त्रिक अनुभव,अभ्यास र प्राथमिकतमा अघि बढ्छ र सुदृढ हुँदै जान्छ । यस यथार्थलाई बुझिदिनुहुन हाम्रा मित्रहरुमा विनम्र अनुरोध गर्दछु ।नेपालमा कायम हुने एकता, शान्ति, स्थिरता,लोकतन्त्र र विकासले हाम्रा छिमेकीहरु र विश्व समुदायलाई पनि शान्ति र समृद्धिमा सकारात्मक योगदान पुग्नेछ भन्ने यथार्थतर्फ म हाम्रा मित्र राष्ट्रहरुको ध्यानाकर्षण गराउन चाहन्छु । आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू 

१२) मुुलुकको भविष्य हाम्रो उद्देश्यको एकतामा निर्भर रहन्छ । संविधान एक राजनीतिक दस्तावेज पनि हो । यसमा तोकिएको सशोधनको प्रक्रियाबाट समय सापेक्ष जनआकांक्षा प्रतिविम्बित हुन्छ । त्यसकारण लोकतान्त्रिक विधि र प्रक्रियाबाट संविधान बनाई मुलुकलाई लामो संक्रमणकालबाट जतिसक्दो चाँडो निकास दिनु अनिवार्य ठानेको छु ।

१३) मेरो लक्ष्य लोकतान्त्रिक संविधान निर्माण गरेर मुलुकलाई शान्ति, स्थिरता र दिगो विकास पथमा अग्रसर गराउनु हो । सत्ता मेरो लागि गौण विषय हो । म संविधान निर्माण पूरा गराउने अभियानमा प्रतिबद्ध छु ।

१४) संविधान निर्माण गर्ने प्रयत्नमा हामी आज एउटा संवेदनशील मोडमा उभिएका छौं । म दृढतापूर्वक देश र जनतालाई आश्वस्त गराउन चाहन्छु,शान्तिपूर्ण छलफल र लोकतान्त्रिक विधिको अबलम्बन गर्दै हामी देशमा चाडै नै संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गर्नेछौ । नेपाली जनताको शान्त र विशाल जनमत लोकतान्त्रिक संविधान प्राप्त गर्दै सुदृढ राष्ट्रिय एकता सहित शान्त र संमृद्ध नेपाल निर्माण गर्न चाहान्छ । बहुसंख्यक नेपाली जनताको यो चाहनालाई हामी उग्र ,अराजक र अलोकतान्त्रिक व्यवहारको निशाना बन्न दिने छैनौ भन्ने दृढता व्यक्त गर्न चाहन्छु । हाम्रो यस कार्यमा समस्त देशवासी र प्रवासी नेपालीहरुको व्यापक सहयोग र समर्थन रहनेमा म विश्वस्त छु ।