मुख्य समाचार

मतदाता नामवलीमा नाम दर्ता गर्न टोली गाउं गाउंमा

By धादिङ न्यूज

February 05, 2015

धादिङ– धादिङमा माघ १५ गतेदेखि गाविस तथा नगरपालिकाका वडामा फोटो सहितको मतदाता नामावली संकलन शुरु गरिएको छ ।

जिल्ला निर्वाचन कार्यालय धादिङले गाविस र नगरपालिकाका वडा स्तरमैं पुगेर बिगतमा छुटेकाहरुको नामावली संकलन गर्नुका साथै त्रुटी सच्याउन लागेको हो । उमेर पुगे पनि दर्ता प्रक्रियामा छुटेका व्यक्तिको फोटोसहितको मतदाता नामावली संकलन, भएका त्रुटी सच्याउने र बसाई सराई भएका व्यक्तिहरुको नामावली सच्याइने जिल्ला निर्वाचन अधिकारी नारायण पोखरेलले बताउनुभयो । जिल्लालाई तीन वटा कलष्टरमा विभाजन गरिएको र त्यसका लागि आवश्यक कर्मचारी परिचालन गरिएको छ । धादिङमा ७५ हजार जनाको नाम मतदाता नामावलीमा नाम छुटेको अनुमान निर्वाचन कार्यालयको छ । २०६३ मा कुल मतदाता संख्या २ लाख ७६ हजार २ सय ५९ जना रहेको थियो । यसै गरी २०६८ को जनगणना अनुसार जिल्लाको जनसंख्या ३ लाख ३६ हजार ६७ रहेकोमा १६ बर्ष माथिको जनसंख्या २ लाख १२ हजार ३ सय ८९ रहेको थियो । कुल जनसंख्या मध्ये २०७१ पौष मसान्त सम्ममा १ लाख ८२ हजार ४ सय ४ जनाको नाम मतदाता नामावलीमा दर्ता भईसकेको पनि कार्यालयले जनाएको छ । निर्वाचन कार्यालयका अनुसार २०७० मा धादिङमा कुल मतदाता संख्या १ लाख ७१ हजार ३७ जना रहेका थिए भने समग्र जिल्लाको मतदान प्रतिशत ७९.१० प्रतिशत रहेको पनि निर्वाचन अधिकारी पोखरेलले जानकारी दिनु भयो । जिल्लाका ४६ वटा गाविस तथा नीलकण्ठ नगरपालिकाका १३ वटा वडा मध्ये पहिलो चरणमा ४६ गाविसमा छुटेकाहरुको नामावली संकलन तथा त्रुटी सच्याइने उहाँको भनाइ छ । यसका बारेमा गाविस स्तरसम्म सचेतना प्रदान गर्नका लागि गाविसमा गाविस सचिव र नगरपालिकाका वडा सचिवलाई सहायक दर्ता कर्मचारी र सामाजिक परिचालकल्ऽाई निर्वाचन शिक्षा कार्यकर्ताको रुपमा परिचालन गरिने जिल्ला निर्वाचन अधिकारी पोखरेलले बताउनुभयो । जिल्ला कार्यक्रम व्यबस्थापन समितिको बैठक बसेर दर्ता कर्मचारी छनोट गर्नुका साथै सहायक दर्ता कर्मचारी र निर्वाचन शिक्षा कार्यकर्तालाई अभिमुखिकरण समेत गराईएको जिल्ला निर्वाचन कार्यालय धादिङले जनाएको छ । मतदाता नामावलीमा भएको त्रुटी सच्याएपछि र छुटेकाहरुको फोटो सहितको मतदाता नामावली संकलन भएपछि निर्वाचन आयोगले सबैलाई स्थायी प्रकृतिको फोटो सहितको मतदाता परिचयपत्र प्रदान गर्ने तयारी गरिरहेको छ । अर्को पटक तत्काल फेरी नामावली संकलन नगरिने भएकोले टोली गाविस तथा नगरपालिकाको वडामा आइपुगेका बेला आफ्नो नाम लेखाउन र त्रुटी सच्याउन पनि जिल्ला निर्वाचन अधिकारी पोखरेलले सबैलाई आग्रह गर्नु भएको छ । १६ वर्ष पुगिसकेका र नागरिकता प्रमाणपत्र लिइसकेका व्यक्तिले नाम दर्ता गराउन सक्ने उहाँको भनाइ छ । फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता नभएमा आगामी दिनमा हुने निर्वाचनमा मतदान गर्न नपाइने भएकाले गाविसमा टोली आएका बेला अनिवार्य रुपमा नाम दर्ता गराउनु पर्ने जिल्ला निर्वाचन अधिकारी पोखरेलले बताउनुभयो ।