कभर फोटो

पुल माग्दै जिविस घेर्न पुगे सलाङबासी

By Dhading News

February 16, 2015

धादिङबेसी, ४ फागुन -बर्षौ देखि तुइनबाट कष्टकर यात्रा गर्दै आएका धादिङको सलाङ गाविस वडा नम्बर ५ र ६ का नागरिकले तत्काल झोलुङ्गे पुल बनाइदिन माग गर्दै सोमबार जिल्ला विकास समिति धादिङ घेराउ गरेका छन् ।

नदी वारपार गर्नका लागि संचालनमा रहेको तुइन जिर्ण भएका कारण गएको २५ वर्षदेखी बर्षेनी पुल माग्दै राजनीतिक दलका नेता देखि मन्त्री समेतको ध्यानकार्षण गराउंदै आएका गाउंलेहरु सोमवार मोटर रिजर्भ गरेरै जिल्ला विकास समिति आईपुगेका हुन । केही दिन अघि मात्रै सह सचिवमा बढुवा हुनुभएका धादिङका स्थानीय विकास अधिकारी रुद्रसिंह तामाङ कार्यालयमा नभेटेपछि गाउंवासीले प्रमुख जिल्ला इञ्जिनियर भरतप्रसाद अर्याल र सामाजिक विकास अधिकृत विनोद अर्याललाई आफ्नो पिडा सुनाउँदै निवेदन बुझाएका थिए । तुइन तान्दा तान्दा छिया छिया भएको हात देखाउँदै रामशरण सेढाईले दैनिक जिवन निर्वाह गर्नका लागि तुईन तर्नुको विकल्प नभएको र सोही तुईनका कारण टिटानस जस्तो गम्भिर संक्रमण भएको दुःखेसो पोखेका थिए । हरेक दिन तुईन तर्नुपर्ने र दिनदिनै संक्रमण थपिंदै जाने भएकाले उपचार नगराएको सेढाईको भनाई छ ।

विभिन्न पत्र पत्रिकाले सलाङका वासिन्दाले भोग्नुपरेको पिडालाई समाचारको माध्यमवाट वाहिर ल्याउंदै आईरहेको भएपनि सरकारले जनताको पिडा नदेखेको गाउँवासीको गुनासो छ । जलेश्वरी माविका शिक्षक नेत्रबहादुर थापाले दुई दर्जनबढी बालबालिका दिनहुं तुइन र खिरखिरेमा झुण्डिएर विद्यालयमा आउनु पर्दा बालअधिकार र मानवअधिकारको धज्जि उडिरहेको बताउनु भयो । पटक पटक जिल्ला विकास समिति। सभासद,मन्त्री र डोलिडार धाउँदा कसैले पनि चासो नदिएको स्थानीय विष्णु रुपाखेती बताउनुहुन्छ । अब पनि हामीले राखेको माग पुरा नभए आन्दोलनमा उत्रिने रुपाखेतीको चेतावनी छ । सलाङबासीको पत्र बुझ्दै प्रमुख जिल्ला इञ्जिनियर अर्यालले जिल्लाभर रहेका ९ वटा तुइन पाँच वर्ष भित्र विस्थापित गरी झोलुङ्गे पुल निर्माण गर्ने योजना बनेकाले तत्काल सम्बोधन गर्ने आश्वासन दिनु भएको छ । तत्काल पुलको सर्वेक्षण गरेर प्रकृया अगाडी बढाउने आश्वासन दिएपनि गाउंवासीले शंका व्यक्त गरेपछि अर्यालले सलाङबासीलाई तीन महिना भित्र सर्वे गरी काम अगाडी बढाउने बाचा गर्नु परेको थियो । ट्रक रिजर्भ गरेर जिविस पुगेका करिव तीन दर्जन गाउंलेले तीन महिनामा काम सुरु नभए शशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।