कभर फोटो

देशमा छिट्टै जनताले चाहेको संविधान आउँछ- प्रधानमन्त्री कोइराला

By धादिङ न्यूज

February 22, 2015

धादिङ, फागुन १० – देशमा छिट्टै लोकतान्त्रिक संविधान आउने प्रधानमन्त्री सुशील कोइरालाले बताउनु भएको छ । गणेशमान बलिदानी अभियानका क्रममा धादिङको बैरेनी बजारमा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री कोइरालाले माघ ८ मा संविधान आउन नसकेपनि अव छिट्टै मुलुकले लोकतान्त्रिक संविधान पाउनेमा ढुक्क हुन अनुरोध गर्नु भएको छ । नेपाली काँग्रेसका सभापति समेत रहनुभएका प्रधानमन्त्री कोइरालाले कुनै पनि नेपालीको शिर झुक्ने काम आफूहरुले नगर्ने बताउँदै भन्नुभयो, ‘तपाईँ जनताले आफूहरुलाई दिएको कार्यभार पुरा गरेर नै छाड्ने छौँ, ढुक्क हुनुहोस तपाईँको शिर कहिल्यै झुक्न दिने छैन ।’ माघ ८ मा संविधान आउन नसक्नुको कारण नखोजी दोष प्रधानमन्त्रीलाई मात्र थोपर्ने काम हुनु जायज नभएको बताउँदै कोइरालाले सबै दलले आफूले गरेको प्रतिबद्धता पुरा गर्न सके नसकेको आत्मलोचना गर्नुपर्ने बताउनु भयो । शान्तिका लागि सबैको प्रयास आवश्यक रहेको बताउँदै प्रधानमन्त्री कोइरालालेले हात जोडेर भन्नुभयो, ‘शान्ति खल्बल्याउने काम कसैले पनि नगर्नुस्, शान्ति आउन दिए मात्र देशमा विकास सम्भव छ ।’ आन्दोलनरत विपक्षी मोर्चाप्रति लक्षित गर्दै प्रधानमन्त्री कोइरालाले नेपाली जनताको चाहना शान्ति, अमन चयनका लागि लोकतान्त्रिक संविधान भएकाले अव देशमा आन्दोलन गर्ने, धम्क्याउनेहरुको दिन सकिएको बताउनु भयो । स्थायी शान्ति र लोकतन्त्रप्रति षड्यन्त्र भैरहेको बताउँदै प्रधानमन्त्री कोइरलाले संविधान निर्माणको अभियानलाई कुनै षड्यन्त्रले पनि रोक्न नसक्ने चेतावनी दिनुभयो । गणेशमान सिँहको योगदानको स्मरण गर्दै प्रधानमन्त्री कोइरालाले लोकतान्त्रिक संविधान दिन सके गणेशमान जस्ता विर योद्धाप्रति उच्च सम्मान हुने बताउनु भयो । काँग्रेसले वीपी, गणेशमानहरुको विचारलाई मार्गदर्शनका रुपमा लिएर अगाडि बढिरहेको बताउँदै कोइरालाले सबै जनतालाई खुसी राख्न आफूहरु लागि परिरहेको बताउनु भयो । सोही कार्यक्रममा बोल्दै अर्थमन्त्री रामशरण महतले राजनैतिक स्वतन्त्रता रहेमात्र देशको आर्थिक विकास तिब्र गतिमा हुने बताउनु भयो । लोभ लालचाबाट टाढा रहेका गणेशमासिँहको स्मरण गर्दै अर्थमन्त्री महतले पदको लोभबाट मुक्त भएका गणेशमानको विचारलाई काँग्रेस कार्यकर्ताले कहिल्यै भुल्न नहुने बताउनु भयो । देशमा संविधान आएपछि गाउँगाउँमा सडक निर्माणको अभियान, विविधतायुक्त परियोजना र कृषि परियोजना सुरु भइ त्यसले देशलाई आर्थिक सम्बृद्धिको बाटोमा डोर्याउने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा बोल्दै वन मन्त्री महेश आचार्यले संविधान निर्माणको कार्यलाई छाडेर आन्दोलनमा नलाग्न विपक्षी मोर्चालाई आग्रह गर्नु भयो । विपक्षी मोचालाई सम्बोधन गर्दै आचार्यले भन्नुभयो, ‘जनता संविधान चाहन्छन्, विकास चाहन्छन् तर तपाईँहरु आन्दोलन भनिरहनुभएको छ ।’ अव सबैको ध्यान संविधान लेखनमा हुनुपर्ने बताउँदै आचार्यले लोकतान्त्रिक संविधान दिनुमा नै सबै दलको हित रहेको बताउनु भयो । प्रधानमन्त्री कोइरालाले बैरेनी गल्छीमा निर्माण गरिएको विर गणेशमान चौतारीमा वर पिपल वृक्षारोपण गर्नुभएको थियो । तत्काल्नि राणाशासनको अन्त्य गर्ने संकल्पका साथ वि.स २००१ असार ७ गते भद्रगोल जेल तोडेर भारत छिर्नु अघि गणेशमान सिंहले पैदलयात्रा गरेको ठाउँमा यो अभियान सुरु गरिएको हो । सिंहको जन्मसताव्दीको अवसरमा सुरु गरिएको यस अभियान काठमाडौ, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, तनहूँ, कास्की, स्याङजा, पाल्पा हुदै रुपेन्देहीमा पुगेर समापन गरिने जानकारी दिइएको छ । गणेशमान हिडेको, बास बसेको र खाना खाएको ठाउँमा पदयात्रा र सभा मार्फत अभियान चलाईको नेपाली काँग्रेस धादिङका सभापति रामनाथ अधिकारीले जानकारी दिनुभएको छ ।