कभर फोटो

पृथ्वीराजमार्गको मलेखु र आसपासमा दिउँसै रात परेपछि

By धादिङ न्यूज

February 26, 2015

धादिङ १४ फागुन  – विहीवार विहानै देखि वदलिएको मौसमका कारण दिउँसो रातपरेजसरी केही बेर चारैतिर अन्धकार छाएको छ ।

धादिङ जिल्लाको सदरमुकाम धादिङबेसी र जिल्लाका अन्य स्थानहरुमा पनि विहानै देखि मेघगर्जन सहित पटक पटक पानी परेको थियो । मध्य बर्षायाममा जसरी पानी पर्न थाले पछि बिद्यालय जानु पर्ने वालवालिका, कार्यालय जानु पर्ने कर्मचारी र अन्य काममा निस्किएकाहरु पानीमा भिज्दै गन्तव्यमा पुग्न हतारिएका थिए ।  रातपरेजस्तै लाग्ने गरी भएको अन्धकार पछि सडकमा गुडिरहेका सवारी साधन हेडलाईट बालेर गन्तव्य तर्फ लागेका थिए । अघिल्ला दिनहरुमा बिहान केहीबेर घाम लागेर दिउँसो बदली हुने गरेपनि बिहीबार भने आकाश बिहानैदेखि बादलले ढाकेको थियो  । घाम लाग्ने बेला डम्म बादल लागेर पानी पर्दा दिउँसै अन्धकारजस्तो जस्तै हुन पुगेको थियो ।  अचानक चारैतिर अन्धकार देखिंदा  धेरै घर र कार्यालयमा बत्ती बालेर काम गर्नुपर्ने अवस्था आएको थियो । जिल्लाका सबैस्थानमा केही बेर अन्धकार छाएको भएपनि पृथ्वीराजमार्गको मलेखु र आसपासमा भने निकै प्रभाव परेको थियो ।पश्चिमी वायुका कारण केही दिनदेखि नै मौसम बदली भैरहेको छ । अहिले प्रिनसुनको संकेत पनि देखिएकाले मेघ गर्जन सहित हल्का पानी परेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका धेरै ठाउँमा अहिले मौसम बदली भएको छ ।

विहीवार दिउंसो पृथ्वीराजमार्गको मलेखु र आसपासका क्षेत्रमा अन्धकार देखिएपछि मलेखुबाट कुमार अधिकारीले  धादिङ न्यूजलाई उपलव्ध गराएको तस्बिरहरु