काठमाडौं, फागुन १८ – काठमाडौं उपत्यका सहित देशभर साेमबार पनि मौसम बदली भएको छ । राती केहीबेर पानी रोकिएपनि बिहानदेखि फेरि झरी पर्न थालेको छ । धेरै ठाउँमा दिनभर पानी पर्ने र रोकिने क्रम चलिरहने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार उच्च हिमाली क्षेत्रमा हिमपात हुनेछ उज्यालो अनलाईनले खबर लेखेको छ ।
पश्चिमी वायुको प्रभावले अाइतबारदेखि देशभर बदली भएर पानी परेको हो । न्यूनचापीय प्रणाली अरब सागरसँग समिश्रण हुँदा पश्चिमी वायुले ठूलो रूप लिएको मौसमविदले बताएका छन् । भूमध्यसागरबाट यो वायु नेपालको पश्चिमी भेग हुँदै देशभर प्रभाव पारेकाले डडेल्धुरा, दीपायल, धनगढी, सुर्खेत, नेपालगन्ज, जुम्ला, दाङ, भैरहवालगायतका ठाउँमा बढी बदली भएको छ ।
आइतबार पनि मध्य पश्चिम र मध्य क्षेत्रमा प्रभाव बढी रहेको मौसमविदले बताएका छन् । पूर्व र सुदूरपश्चिममा पनि हल्का बदली भएको छ । देशभर नै मौसम बदली भएको र मंगलबार बेलुकीदेखि मात्र सुधार हुने महाशाखाले जनाएको छ । भूमध्य सागरबाट आउने वायुले उच्च वायुमण्डलमा गतिविधि सञ्चालन गर्दा हावाको चाप बढेमा खराब मौसमको विकास भई यस किसिमको परिस्थिति उत्पन्न हुने गर्दछ ।
मौसम बदली भएसँगै चिसो बढेको छ । मौसमविदहरुका अनुसार पानी रोकिएपछि भने गर्मी बढ्न थाल्नेछ ।