मुख्य समाचार

चारदिन पछि बल्ल खुल्यो विमानस्थल

By धादिङ न्यूज

March 08, 2015

काठमाडौं,– बुधबार बिहान टर्किस एअरलाइन्सको जहाज अवतरणको क्रममा दुर्घटना भई विमानस्थलको धावनमार्गमा फसेपछि अबरुद्ध बनेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल खुलेको छ । विमान धावनमार्गमा फसेको र त्यसलाई हटाउन समय लागेपछि चारदिनयता अन्तराष्ट्रिय उठान बन्द भएको थियो ।

विमानलाई धावनमार्गबाट हटाउन खटिएका प्राविधिकहरुले सफलता हात पारेपछि विमानस्थल साँझ साँढे सात बजेदेखी  खुलेको हो । यसअघि विमानलाई धावनमार्गबाट हटाउन समय लागेपछि विमानस्थल प्रशासनले उडान सुचारु हुन समय लाग्ने भन्दै पटक पटक विमानस्थल खुल्ने समय सार्दै आएको थियो । केहि घण्टा पहिले पछि विमानस्थल प्रशासनले विमानस्थल राती १२ बजे खुल्ने जानकारी गराएको थियो ।

नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक रतिशलाल सुमनले प्राविधिक जटिलता भएकाले विमानस्थल खुलाउन समय लागेको बताए ।

अवरुद्ध विमानस्थल खुलेसँगै यात्रुलाई सहज सेवा दिनका लागि २४सै घन्टा विमानस्थल सञ्चालनमा ल्याइने उनले जनाए । चारदिनसम्म विमानस्थल बन्द हुँदा हजारौँ यात्रु अलपत्र परेका थिए भने आज पनि तोकिएको समयमा उडान नहुने सुचना पाएपनि विमानस्थल पुगेका यात्रुहरु निराश हुँदै घर फर्किएका थिए ।