कभर फोटो

बिषादी मिसिएको गहुँको रोटीले तीन पुस्ताको ज्यान लियो-१५ जना सिकिस्त

By धादिङ न्यूज

March 09, 2015

धादिङ, २५ फागुन- बिषादी मिसिएको गहुंको पिठोबाट वनाईएको रोटी खांदा धादिङको पिडा गाविसमा एकै परिवारका ६ जनाको ज्यान गएको छ । किराले नखावोस भनेर बिषादी हालेर जोगाएर राखिएको गहुं पिसेर रोटी वनाएर खांदा एकै घरका तीन पुस्ताले अकालमा ज्यान गुमाउनु परेको हो । जिल्लाको दक्षिणी भेगमा पर्ने पिडा गाविस वडा नं. ८ पुकुनमा रोटी खाएपछि २० जना सिकिस्त विरामी भएका थिए । सिकिस्त भएका मध्ये ६ जनाले ज्यान गुमाएका छन । स्थानीय सन्ज बहादुर तामाङका घरमा सोमवार विहान करिव ६ वजे तिर खाजाको लागि पकाएको रोटी खाँदा घरका सबैजना एकै साथ विरामी परेका हुन । घट्टधनी तिलक बहादुर तामाङको परिवारले आईतबार सन्ज बहादुरको घरमा रहेको गहुँ पिनी सकेपछि लगत्तै कोदो पिसेको र त्यही कोदोको रोटी खांदा उनिहरुको परिवार समेत विरामी भएको घट्टधनी तामाङ बताउनु भयो ।

ज्यान गुमाउनेमा ६२ वर्षिय सन्ज बहादुर तामाङ, उनका माईली बुहारी २८ वर्षिय फूलमाया तामाङ, फुलमायाका छोरा ५ वर्षिय अर्जुन तामाङ, ७ वर्षिया छोरी सविता तामाङ र २ वर्षिया छोरी अनिता तामाङ र ५ वर्षिय रमेश तामाङ रहेका छन । रमेशका बाबु सन्जवहादुरका कान्छा छोरा हुन । उनी दुृई बर्ष देखि वैदेशिक रोजगारीका लागि कुवेतमा रहेका छन । घटनामा परि ज्यान जानेसबै सन्जवहादुरका परिवारमात्रै रहेका छन । सिकिस्त घाईते हुनेहरुमा सन्जवहादुरकी श्रीमती६० वर्षिया फूलमाया तामाङ, उनका माईला छोरा ३५ वर्षिय टेक बहादुर तामाङ, कान्छी बुहारी ३१ वर्षिया सम्झना तामाङ, नातिनी २० वर्षिया बुद्धलक्ष्मी तामाङ, १५ वर्षिया ठुलीमाया तामाङ, १५ वर्षिया बुदलक्ष्मी तामाङ, ८ वर्षिया फूलमाया तामाङ रहेकाछन् । यसैगरी घाईते हुनेहरुमा ठुलीमाया तामाङ, मुगुमाया तामाङ, वीर बहादुर तामाङ, तिलक बहादुर तामाङ, शान्तीमाया तामाङ, सुनमाया तामाङ, राजु तामाङ र रमिला तामाङ रहेको धादिङका प्रहरी नायव उपरिक्षक प्रकाश मल्लले बताउनु भयो । विरामीहरुको स्थानीय राजमार्ग सामुदायिक अस्पताल मलेखु, प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा प्रारम्भिक उपचार गराई थप उपचारका लागि काठमाण्डौं लगिएको छ । काठमाण्डौं लगिएका मध्ये ११ जनाको मनमोहन मेमोरियल अस्पतालमा र ४ जनाको शिव ज्योती अस्पतालमा उपचार भईरहेको पनि मल्लले जानकारी दिनु भयो ।

रोटी खानेजति सबै विरामी परेको भन्ने खबर आएपछि घरमा बाँकी रहेको गहुँको पिठो परिक्षणका लागि ल्याईएको ईलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक हेमन्त भण्डारीले बताउनु भयो । वीउको लागी राखेको गहुँमा किरावाट जोगाउन विषादी छर्केर रोखेको र त्यही गहुँ पखालेर घट्टमा पिसेर रोटी पकाएर खाँदा उक्त घटना हुन पुगेको गाउँलेहरुले वताएका छन । कृषि सेवा केन्द्र गजुरीका अधिकृत वेदप्रसाद रेग्मीका अनुसार अधिकांश किसानले गहुँको विउ जोगाउनका लागि भनेर सेलफस चक्की किटनाशक र भाइटव्याक्स ढुसीनाशक औषधि प्रयोग गर्ने गरेको वताउनुहुन्छ ।

घटनास्थल विकटमा रहेका कारण विरामीेहरुकोे उद्धारमा केही ढिलाई हुंदा विरामीहरुलाई समयमै स्वास्थ्य संस्था लैजान ढिलाई भएको थियो । खबर आएपछि ईलाका प्रहरी कार्यालय गजुरी, शशस्त्र प्रहरी वल राजमार्ग सुरक्षा वेस क्याम्प आदमघाटको प्रहरी टोली घटनास्थल गएको थियो । सुरक्षाकर्मी र स्थानीयको प्रयासमा विरामीहरुलाई उद्धार गरी गजुरी र मलेखु ल्याईएको थियो । उपचारका लागि ल्याउंदै गर्दा घरमुली सन्जवहादुर, वुहारी फुलमाया र नाती रमेशको बिच वाटोमै ज्यान गएको थियो भने बाँकी ३ जनाको काठमाण्डौंको मेघा अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । सबै मृतकको शव गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा संकलन गरी शव परिक्षण पछि परिवारका सदस्यलाई बुझाईने पनि प्रहरीले जानकारी दिएको छ ।