बिकास /परिवर्तन

हात्तिपाइले रोग विरुद्धको दोस्रो चरणको औषधी शनिवार देखि खुवाउदै

By धादिङ न्यूज

March 15, 2015

काठमाण्डौं–हात्तिपाइले अर्थात फाइलेरियारोग विरुद्धको औषधी खुवाउने दोस्रो चरणको अभियान शनिवार देखि तीन दिनसम्म देशभर सञ्चालन हुनेछ । हात्तिपाइले रोग लाग्नबाट बचाउन शनिबार, आइतबार र सोमबार दोस्रो चरणमा औषधी खुवाउन कार्यक्रम अन्तरगत काठमाडौँ, ललितपुर र भक्तपुरमा घरदैलोमा पुगेर औषधि खुवाईने स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशका ६१ जिल्ला हात्तीपाइले रोगबाट प्रभावित छन् । पहिलो चरणमा भने फागुन २३ देखि २५ गतेसम्म पाँचथर भोजपुर, इलाम, झापा, मोरङ, धनकुटा, तेह्रथुम, ओखलढुङ्गा, सिराहा, सप्तरी, उदयपुर, अर्घाखाँची लगायत ३८ जिल्लामा औषधी खुवाइएको थियो । हात्तिपाइले रोग लाग्नबाट बचाउने भएकाले सबैले औषधि सेवन गर्नुपर्ने व्यवस्था मिलाइएको छ । तर गर्भवती तथा एक हप्ता सम्मका सुत्केरी आमाहरु, सिकिस्त विरामीहरु, छारे रोगका विरामीहरु र दुई बर्ष नपुगेका बालबालिकाहरुले भने औषधी गर्न नहुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा यो रोगको संक्रमण सरदरमा १३ प्रतिशत देखिएको छ । रोगको परजिवि भएका मानिसमा गोडा सुन्निने, सेतो पिसाव बग्ने, स्तन तथा जनेन्द्रीय सुन्निने समस्या हुने स्वास्थ्यकर्मीहरुको भनाई छ । नेपालमा यो रोग निदानका लागि सन् २००३ देखि प्रभावित जिल्लामा औषधी सेवन अभियान चलिरहेको छ ।