गजलमा गरिबी, हत्या, हिंसा, काटमार, मृत्युको अपरीहार्यता, युवा बेरोजगारको पीडा, वर्गीय चेतना र शोषणको अन्त्यको चाहना, काठमाडौंको दुरावस्था आदिको अभिव्यक्ति पाइन्छ । वर्तमान युगीन परिवेशमै केन्द्रीत रही मूलतः प्रेमका विविध रूपको सहज प्रस्तुति स्वरूप आफैंभित्र आएको छ । गजल गेयात्मक किसिमका छन् । प्राज्ञ बुँद रानाले गोपीकृष्णका गजलमा माटो र बाटो बिराएकालाई बाटो देखाउनु र सचेत गराउने स्रष्टाको कर्तव्य पूरा गरेको भूमिकामा उल्लेख गरेका छन् । कृतिमा दुःख रोपी सुखी सपना, हावासँगै हाँसु, जन्मेपछि मर्नैपर्छ, गरिब नेताको, बस्तीजस्तो छैन, नबुझेनि बुझेजस्तो, जताततै ठोक्किएर, मनदेखि मनसम्म जस्ता शीर्षकमा गजल लेखिएका छन् ।
गोपीकृष्ण ढुंगानाको गजल संग्रह ‘आफैंभित्र’ पाठकसामू आएको छ । तन्नेरी प्रकाशनले ढुंगानाको दोस्रो गजल संग्रहलाई बजारमा ल्याएको हो । संग्रहमा ६१ वटा गजल समेटिएका छन् । पहिलो गजल संग्रह ‘मौनताका रातहरू’ २०६० सालमा निकालेका उनले एक दसकपछि यो संग्रह ल्याएका हुन् ।