राजनीति

नेताहरु तथा उच्च अधिकारीहरुलाई राज्यकोषबाट करोडौं लिएर उपचार गर्न जाने प्रवृत्तिमा रोक

By धादिङ न्यूज

March 21, 2015

 

काठमाडौं– राजनीतिक दलका नेताहरु तथा उच्च सरकारी अधिकारीहरुले राज्यकोषबाट करोडौं रकम लिएर विदेशमा उपचार गर्न जाने प्रवृत्ति रोक्न सरकारले नयाँ व्यवस्था गरेको छ । हिजो मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार अब वीर अस्पतालमा सम्भव नभएका उपचारका लागि मात्रै विदेश जान पाइनेछ ।

वीर अस्पतालमा सम्भव भएका उपचार सोही अस्पतालमा उपचार गराउँनुपर्नेछ । उच्च सार्वजनिक ओहोदामा रहेका व्यक्ति तथा नेताहरुले वीर अस्पतालमा सम्भव नभएका उपचारका लागि वीर अस्पताल मेडिकल बोर्डको अनिवार्य रुपमा स्वीकृति लिनुपर्नेछ । स्वास्थ्य मन्त्रालयको प्रस्तावलाई बिहीबारको मन्त्रिपरिषद् बैठकले पारित गरेको हो । स्वास्थ्य मन्त्रालयका चिकित्सा महाशाखा प्रमुख डा. गुणराज लोहनीले विदेशमा नेता तथा उच्च सरकारी अधिकारीहरु विदेशमा उपचार गर्न जाने प्रचलनलाई कम गर्न यस्तो व्यवस्था गरिएको जानकारी दिए ।

‘अब यो निर्णयपछि उच्च पदस्थ तथा वरिष्ठ व्यक्तित्वहरु उपचारका लागि विदेश जाने क्रममा कमी आउनेछ ।’ डा. लोहनीले भने । नेपालका राजनीतिक दलका नेता तथा उच्चपदस्थ व्यक्तिहरु नेपालमै सम्भव उपचारका लागि पनि राज्यकोषबाट करोडौं रकम लिएर विदेशमा उपचार गर्न हाम्फाल्ने प्रवृत्ति बढेपछि त्यसलाई नियन्त्रण गर्न सरकारले नै व्यवस्था गरेको हो ।

वीर अस्पतालमा उचपार सम्भव नभएको भनी मेडिकल बोर्डले दिएको सिफारिसका आधारमा मात्र सरकारले आर्थिक सहयोगको प्रक्रिया अगाडि बढाउनेछ । नेताहरु सरकारी खर्चमा विदेश जाने क्रम बढेपछि जनस्तरमा पनि व्यापक आलोचना भएको थियो । उपचारका लागि सरकारी खर्च लिने प्रवृत्ति रोक्ने विषयमा संसदीय समितिमा पनि आवाज उठेको थियो ।