कभर फोटो

बेतेनीमा विलिभर्स चर्चबाट खानेपानी

By धादिङ न्यूज

March 26, 2015

बाबुराम श्रेष्ठ

धादिङ, १२ चैत – बर्षौ देखि खानेपानीको समस्या भोग्दै आईरहेका उत्तरी धादिङको कटुञ्जे गाविस वडा नं ६ बेतेनीका गुरुङ समुदायले अव त्यो समस्या झेल्नु नपर्ने भएको छ । घर घरमा खानेपानीको सुविधा पाएपछि वेतेनीका वासिन्दा हर्षित भएका छन् । पिछडिएका समुदायहरुको जिवन स्तर बृद्धि गर्न र सामाजिक क्षेत्रको विकासमा सहयोग गर्ने उद्धेश्यले निमार्ण गरिएको खानेपानी आयोजनाको बुधवार एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको थियो । बिलीभर्स चर्च काठमाण्डौंका डायोसिसका सचिव फादर चित्र कुमार रुप्चाले खानेपानीका लागि निर्मित धारोबाट गाग्रीमा पानी भरेर आयोजनाको उद्घाटन गर्नु भएको थियो । बिलिभर्स चर्च धादिङको आर्थिक सहयोगमा धादिङको कटुञ्जे गाबिस वडा नं ६ बेतेनीमा उक्त खानेपानीको धारा निमार्ण गरिएको हो । भालुखोप खोल्साबाट ७ सय मिटर पाईप गाडेर ल्याइएको खानेपानीबाट बेतेनीका ४० घर घुरी मध्ये ७ घर धुरी प्रत्यक्ष लाभान्वित भएका छन । ४ वटा खानेपानीको धारा निमार्ण गर्नको लागि लागि आवश्यक सिमेन्ट, बालुवा, धाराको टुटी, पाईप, मजदुरीहरुको ज्याला सहित २ लाख बराबरको लागत परेको विलभर्स चर्च धादिङका पास्टर सन्त बहादुर गुरुङले जानकारी दिनु भयो । कार्यक्रममा बिलीभर्स चर्च काठमाण्डौका फादर तथा पास्टर कविराज महर्जन, धादिङ जिल्लाका जिल्ला फादर पास्टर सन्तबहादुर गुरुङका साथै स्थानीय बासिन्दाको उपस्थिती रहेको थियो । आर्थिक समस्याका कारण गाउँमा खाने पानी ल्याउन नसकेका गाउंवासीलाई सहयोग गरिएको चर्चले जनाएको छ ।