मुख्य समाचार

धादिङमा राजमार्गका होटल अनुगमन शुरु

By धादिङ न्यूज

April 02, 2015

धादिङ–जिल्ला प्रशासन कार्यालय धादिङले विहीवारदेखि धादिङको राजमार्ग क्षेत्रका होटलको अनुगमन शुरु गरेको छ । विहीवार पृथ्वीराजमार्गमा पर्ने गजुरी गाविसको चाम्वास देखि नौविसे गाविसको खानीखोला सम्मका होटलहरुको अनुगमन गरेको हो ।

धादिङका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको नेत्तृत्वमा गएको टोलीले राजमार्गका विभिन्न होटल तथा भोजनालयहरुको अनुगमन गरेको हो । अनुगमन टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी नन्दलाल शर्मा, इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक हेमन्त भण्डारी क्षेत्री,फियान नेपालका फिल्ड संयोजक राजेन्द्र वस्नेका साथै जिल्लामा विभिन्न संचारमाध्यममा कार्यरत संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

अनुगमन टोलीले राजमार्गमा यात्रा गर्ने यात्रुलाई खाना खुवाउने १४ वटा होटलमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा धेरै जसो होटल दर्ता भएर संचालन भएपनि अधिकांश होटलले मुल्य सुचि नराखेको, मदिरा विक्रीको इजाजत नलिएको, केही होटलको भान्छाकोठा निकै फोहोर भेटिएकाले ति होटललालाई सचेत गराई सुधारका लागि सात दिनको म्याद दिईएको सहायक प्रमुख जिल्ला अधिकारी नन्दलाल शर्माले जानकारी दिनु भयो । विगतको तुलनामा धादिङका राजमार्गका होटलहरुमा सुधार देखिएपनि चित्त वुझ्दो हुन भने नसकेकोले अनुगमनलाई निरन्तरता दिनु परेको पनि शर्माले वताउनु भयो ।

पटक पटकको अनुगमनले होटलहरुमा सुधार देखिएपनि सेवाग्राहीलाई गर्ने व्यवहार अझै सुध्रन नसकेको,वाल वालिकालाई काममा लगाउने गरिएको पाईएकाले त्यस्ता होटललाई पनि सचेत गराईएको प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिनु भयो । अनुगमनका क्रममा गोगनपानी गाविसमा पर्ने लक्ष्मी होटलमा अनैतिक कार्यमा संलग्न रहेको अवस्थामा नुवाकोट जिल्ला घर वताउने सुनार थरका एक जोडी र होटलमा अनैतिक कार्य संचालन गरेको आरोपमा होटल संचालक लक्ष्मी लाई प्रहरीले नियन्त्रणमा लिई कारवाही शुरु गरेको छ ।