कभर फोटो

पूर्वप्रधानमन्त्री स्व थापाको पशुपति आर्यघाटमा अन्त्येष्टि

By धादिङ न्यूज

April 17, 2015

काठमाडौँ, ४ वैशाख । पूर्वप्रधानमन्त्री एवम् संविधानसभाका ज्येष्ठ सदस्य सूर्यबहादुर थापाको धार्मिक विधिअनुसार राजकीय सम्मानका साथ आज साँझ पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

थापाको पार्थिव शरीरमा उहाँका सुपुत्र एवम् वाणिज्य तथा आपूर्ति मन्त्री सुनीलबहादुर थापाले दागबत्ती दिनुभएको थियो ।

यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष समेत रहनुभएका स्व थापाको पार्थिव शरीरमा पार्टी अध्यक्ष पशुपति शम्शेर राणा र नेता दीपक बोहराले पार्टीको झन्डा ओढाएर अन्तिम श्रद्धान्जली अर्पण गर्नुभएको थियो ।

स्व थापाप्रति श्रद्धाञ्जली अर्पण गर्न संविधानसभा अध्यक्ष सुवास नेम्वाङ, उपप्रधानमन्त्री एवम् गृहमन्त्री बामदेव गौतम, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदार, नेपाली काँग्रेसका नेताद्वय अर्जुननरसिंह केसी र प्रकाशशरण महतलगायत राप्रपाका नेता, कार्यकर्ता पशुपति आर्यघाट पुग्नुभएको थियो ।

पाँच पटकसम्म नेपालको प्रधानमन्त्री बन्नुभएका स्व थापाको सम्मानमा नेपाली सेनाको एक टुकडीले शोकधुन बजाउनुका साथै सलामी अर्पण गरेको थियो ।

थापाको गत बुधबार राति उपचारका क्रममा भारतको मेदान्त अस्पतालमा निधन भएको थियो ।