राष्ट्रिय समाचार

कुम्पुरका डेढसय भुकम्प पीडित घरधुरीलाई राहत

By धादिङ न्यूज

May 03, 2015

रूपन्देही- रूपन्देहीको तिलोत्तमा नगरपालिकामा क्रियाशील भलवारी जेसीजको नेतृत्वमा करीब २ लाख रूपियाँ बराबरको राहत सामग्री धादिङ्को कुम्पुर गा.वि.स. वार्डनम्बर ५ र ६ का करीब डेढसय भुकम्प पीडित घरधुरीलाई वितरण गरिएको छ । भलवारी जेसीज, नेपाल रेडक्रस सोसाइटी तिलोत्तमा उपशाखा र प्रगतिशील आमा समूह तिलोत्तमा–९ ले संयुक्त रूपमा राहत सामाग्री तथा नगद संकलन गरेका थिए । संकलित राहत सामाग्रीहरूमा त्रिपाल, ओछ्याउन प्रयोग हुने फाइबार म्याट, चिउरा, बिस्कुट, चाउचाउ, भुजा, दालमोठ, पानी, चामल, पीठो, सोयाबडी औषधी लगायत रहेको भलवारी जेसीजका अध्यक्ष रमेशकुमार पराजुलीले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय रूपन्देहीसँग समन्वय गरी संकलित सामाग्री स्थानीय प्रहरी, दलका प्रतिनिधि, विद्यालयका शिक्षक, भुकम्प पीडित लगायतको रोहबरमा कुम्पुर–५, अमिलिछाप स्थित सामुदायिक भवनबाट वितरण गरिएको रेडक्रस तिलोत्तमा शाखा अध्यक्ष शिवप्रसाद गैरेले बताउनुभयो । सो समूहमा सहभागी भलवारी जेसीजका सञ्चार संयोजक मुक्तिनाथ गैह«ेका अनुसार राजमार्गबाट ४–५ किलोमिटर टाढाको दुरीमा रहेको कुम्पुर गा.वि.स.कै वार्डनम्बर –७ स्थित भालछाप गाउँ अझैपनि राहतको पर्खाईमा रहेको छ । त्यसैगरी, धादिङ्का सेर्तुङ्, तिप्लिङ्, लापा, झार्लाङ् र दार्खामा समेत राहतको अभाव रहेको छ । धादिङ्मा स्थलगत रूपमै उद्दार समेतको अभाव रहेको गैह«ेले जानकारी दिनुभयो । अस्ति (शुक्रबार) राहत सामाग्रीसहित धादिङ् पुगेको जेसीजको टोली हिजो (शनिबार) राहत वितरण गरी फर्किएको हो । धेरैजसो केन्द्रिय सञ्चारमाध्यमले काठमाण्डौं उपत्यका भित्रका कुरामा जोड दिइरहँदा विकट क्षेत्रमा ध्यान पुग्न नसकेको भलवारी जेसीजले ठहर गरेको छ ।