धादिङ , वैशाख २२ – ‘नब्बे सालको भुइँचालो कताकति सम्झन्छु । म आठ वर्षको थिएँ । सबैले भुइँचालो आयो भने । अलिअलि हल्लेको पनि थियो । खरको छानो खटखट गरेको थियो । हामी केटाकेटी बारीतिर कुद्यौँ । अहिलेजस्तो धर्ती नै तलमाथि भएन । अहिलेको भुइँचालो त ज्यानमारा नै हो,’ लीलानाथ भन्छन्, ‘उतिबेला हाम्रो गाउँको एउटा मात्र घर भत्केको थियो । पहाडतिर त्यति धेरै क्षति भएको सुनिएन । नेपाल खाल्टो (हालको काठमाडौं) मा धेरै घर भत्केको हल्ला सुनेका थियौँ ।’
वैशाख १२ को भुइँचालो आउँदा लीलानाथ ढुंगाना दम्पती घरको पिँढीमा थिए । पिँढी र घर हल्लन थालेपछि उनीहरु बारीतिर भागे । हेर्दाहेर्दै लीलानाथको घर ढल्यो ।
‘हामी बूढाबूढी पिँढीमा थियौँ, गुटुटुटु भाथ्यो । धर्ती गट्गट् थर्कन थाल्यो । लौ भुइँचालो आयो भनेर बारीतिर भाग्यौँ, केही झिक्न पाइएन । ओहो, जमिन कति विधि हल्लेको,’ लीलानाथ भन्छन्, ‘छेउमा आएर हेर्दा घर ढलिहाल्यो ।’
लीलानाथ अहिले भत्केको घरको रखबारी गरिरहेछन् । घर भत्केदेखि त्यहाँ कसैलाई जान दिएका छैनन् । यसको कारण हो, उनको करिब ८० हजार रुपैयाँ पुरिएको छ ।
लीलानाथका ६ भाइछोरा छन् । सबै भाइ घरमा बस्दैनन् । एक भाइ भारत, दुई भाइ काठमाडौं, एक भाइ धादिङ बेसी, एक भाइ लमजुङ र एक भाइ पोखरामा छन् । सबैको आफ्नो काम पेसा र जागिर छ ।
‘आठ भाइ छोरा हुन्, दुई भाइ खसे । दुइटी छोरी छन् । छोराछोरी आउँदा दुई–चार हजार दिन्छन्,’ लीलानाथ भन्छन्, ‘६ भाइ छोराका लागि भनेर दुईटा घर थियो । एउटा त आठ सालमा बनाएको हो । दुवै घर धुलो बन्यो ।’ दुवै घर ढलेपछि भारत जागिर गर्ने जेठा छोरा र पोखरा बस्ने कान्छा छोरा कृष्ण घर फर्केका छन् ।
कान्छा छोरा कृष्ण भन्छन्, ‘हामीले दिएको पैसा बाले खर्च नगरी राख्नुहुन्छ । अहिले ८० हजारजति छ भन्नुभएको छ । त्यसैले भत्केको घरतिर कसैलाई जान दिनुभएको छैन । रातभरि तमाखु खाएर बस्नुहुन्छ । पैसा त्यति धेरै त नहोला, जेहोस् अलिअलि हुनुपर्छ ।’
लीलानाथ आफूले राखेको पैसा कति छ भनेर छोराबाहेक अरुलाई सुनाउँदैनन्, चोर लाग्न सक्छ भनेर । त्यसैले उनी छिनछिनमा तमाखु खान्छन् र लाठी बोकेर भग्नावशेष घरको रखबारी गर्छन् । उनलाई आफ्नो घरको र पैसाको माया निकै माया छ । कोही घरतिर आयो भने उनी चनाखो बन्छन्, लाठी उठाउँछन् ।
‘छोरीछोरीले दिएको पैसा तीन ठाउँमा राखेको छु,’ उनले भने, ‘त्यो पैसा पुरिएको छ । पछिलाई चाहिन्छ भनेर राखेको हुँ । पैसा ननिकाल्दासम्म घर छोड्न भएको छैन ।’
धादिङ खाल्टे–६ फाक्सेमा लीलानाथको मात्रै घर भत्केको होइन, थुप्रैको बास उठेको छ । भुइँचालो आउँदा गाउँमै रुवाबासी मच्चेको थियो । तर, लीलानाथ कान कम सुन्छन् । उनको जन्म १९८२ सालको हो ।
ढुंगानापत्नी जयादेवी भन्छिन्, ‘उहाँ कान कम सुन्नुहुन्छ । पूरै गाउँमा रुवाबासी मच्चेको उहाँले थाहै पाउनुभएन ।’
लीलानाथ पहिलेदेखि नै तमाखु अम्मली हुन् । तर, भुइँचालोले घर भत्केदेखि उनले तारन्तार तमाखु तान्न थालेका छन् ।
‘पहिले भुइँचालो नआउँदै पनि मकैमा लुकाएर राखेको मेरो २० हजार रुपैयाँ मुसाले खायो । अहिले एक भारी कपडा पुरिएको छ । अन्न, रुपैयाँ सबै पुरियो । मलाई पुरिएको रुपैयाँको चिन्ता छ,’ उनले भने, ‘प्लास्टिकले बेरेर तीन पोका बनाएर पैसा राखेको छु, भेटिन्छ कि भनेर हो । भुइँचालोले त बाँचियो, अब खानुपर्छ, पैसा चाहियो, के गर्ने ?
– रातोपाटी डट कमवाट