हाम्रो पालिका

त्रिशूलीले वगाउंदा कल्लेरी मस्टारमा एकै घरका दिदि भाई बेपत्ता

By Dhadingnews.com

June 03, 2013

धादिङ,२० जेठ. त्रिशूली नदीमा पौडीखेल्न पसेका एकै घरका दिदि भाई नदीमा डुवेर वेपत्ता भएका छन । धादिङको कल्लेरी गाविस वडा नम्बर ३ मस्टारका केदार खतिवडा र गोमा खतिवडाका १० बर्षिया छोरी ज्वाला र ८ बर्षिय छोरा शंकर आज ( सोमवार ) दिउंसो ३ वजेतिर त्रिशूली नदीमा डुवेर हराएका हुन । गोठालो गएका दुवैजना गर्मिछल्न नदीमा पसेको वेला उनिहरुलाई नदीले वगाएर वेपत्ता पारेको स्थानीयवासीले वताएका छन । वेपत्ता भएका मध्ये ज्वाला वागेश्वरी उच्च मावि बैरेनीमा कक्षा ५ मा र शंकर मस्टारमै रहेको कालीदेवी प्राथमिक बिद्यालयको कक्षा ३ मा अध्ययनरत थिए । नदीमा दुई जना हराएको खवर पाए लगत्तै घटनास्थल पुगेका स्थानीयवासी ,आफन्तजन तथा वैरेनी प्रहरी चौकीको प्रहरी टोलीले खोजीकार्य जारी राखेको भएपनि नदीमा हराईरहेकाहरुको अवस्था खुल्न सकेको छैन । एकै घरका दुई जना नदीमा डुवेर हराएको खवरले कल्लेरी गाविसको वडा नम्बर मस्टार र आसपासका वासिन्दा शोकाकुल हुन पुगेको स्थानीयवासी शिक्षक देवीवहादुर मल्लले वताउनुभयो । शंकरको बिद्यालय विहान खुल्ने भएका कारण उनि दिउंसो घरमै रहने गरेका थिए भने ज्वाला भने सोमवार बिद्यालय नगई घरमै बसेकी थिइन । घरमै भएका कारण उनिहरुलाई घरनजिकै गोठालो पठार्ईएको थियो । घटना सुनेलगत्तै नदीमा हराएका छोराछोरी सम्झिएर खतिवडा दम्पती मुच्र्छित भएको स्थानीयवासीले वताएका छन । नदीमा हराईरहेका दुवैजनालाई जिवितै भेट्ने सम्भावना ज्यादै कम रहेको प्रहरीले जनाएको छ ।