कभर फोटो

ब्रुसबाङका चेपाङलाई राहत बितरण

By धादिङ न्यूज

May 08, 2015

धादिङ,२५ बैशाख- भुकम्पबाट प्रभावित भएका दक्षिणी धादिङको महादेवस्थान गाविसको वडा नम्बर ३ ब्रुसबाङ र आसपासका चेपाङ तथा अन्य समुदायलाई राहत वितरण गरिएको छ । शुक्रवार महादेवस्थान गाविसको कान्द्राङगढीमा धादिङको ब्रुसबाङ र चोतेसका साथै चितवन जिल्लाको लोथर गाविसको छ्याक्पालका ७० घर परिवारलाई विभिन्न संस्थाको संयोजनमा राहत बितरण गरिएको हो ।

बर्षको ९ महिना खाद्यन्न संकट व्यहोर्दै आईरहेका ब्रुसबाङका चेपाङहरुलाई महाभुकम्पले घरै ध्वस्त पारिदिएपछि उनिहरुको थप बिचल्ली भएको भन्दै फियान नेपालले यहांको २९ परिवारलाई प्रतिघर ३० केजी तौल भएको एक एक वोरा चामल, ५ किलो दाल, एक लिटर तेल,दुई प्याकेट नुन राहत स्वरुप उपलव्ध गराएको हो । यसैगरी स्थानीय समाजसेवी केशवप्रसाद पाण्डे, हरी पाण्डे,रेष्टन कंडेलको पहलमा ब्रुसबाङ,चोतेश र छयाक्पालका ७० घर परिवार चेपाङलाइ एक एक थान कम्वल, एक एक जोर लगाउने कपडा र चप्पलका साथै घर भत्किएर खुल्ला आकाशमुनी वस्दै आईरहेको ३० परिवारलाई एक एक थान बिपाल बितरण गरिएको हो । ब्रुसबाङका २९ घर मध्ये जनता आवास कार्यक्रमबाट वनाईएका १० वटा घरमा ८ वटा घर भत्किएर कामै नलाग्ने भएको छ भने वांकी घर पनि बस्नै नहुने गरी क्षती भएपछि यहांका चेपाङहरु दुई साता देखि खुल्ला आकाशमुनी बस्न वाध्य भएको स्थानीय अगुवा टेकवहादुर चेपाङले वताउनु भयो ।

गाउं देखि दुई घण्टा टाढा रहेको मुहानवाट पानी वोकेर जिवन निर्वाह गर्दै आईरहेका यर्हाका चेपाङहरु हिड्ने वाटो भुकम्पको धक्काले पहिरो खसेर हिड्नै नसक्े भएपछि ब्रुसबाङबासीले अव आंफुहरुलाई अन्यत्र सारिदिन आग्रह गरेका छन । गाउंमा वस्दा वांच्नै नसकिने भो , सरकारले उपयुक्त स्थान खोजेर अन्यत्र सारिदिए आंफुहरु सर्न तयार रहेको उनिहरुको भनाई छ ।